चोरिएका नेपाली मूर्ति पेरिसमा अलपत्र
|
चोरिएका दुईमध्ये लक्ष्मी-गरुड बीचमा विष्णु उभिएको ढुंगे मूर्ति पाटनको च्यासलहिटीबाट सन् १९७० को अन्ततिर चोरिएको थियो । यो १२ औं शताब्दीको हो । १३ औं शताब्दीमा निर्मित शिव-उमाको अर्को मूर्ति सन् १९८४, मे २३ को राति भक्तपुरको नासामना टोलबाट चोरिएको थियो । दुवै मूर्ति पेरिसस्थित 'नेसनल म्युजियम अफ एसियन आर्टस गिमेट' मा छन् । चोरीको भन्ने प्रमाणित भएयता संग्रहालयले सार्वजनिक प्रदर्शनबाट हटाएर भण्डारण कक्षमा राखेको छ ।
दुवै मूर्तिबारे लेखक लैनसिंह वाङ्देलको पुस्तक 'स्टोलेन इमेजेज अफ नेपाल' मा सचित्र विस्तृत उल्लेख छ । कला इतिहासकार वाङ्देलले दुई दशकअघि नै म्युजियम भ्रमण गर्दा मूर्ति त्यहाँ प्रदर्शित पाएका हुन् । उनैले स्वदेश फर्किएर चोरिएको प्रमाणसहित संग्रहालयलाई पत्राचार गरेपछि सार्वजनिक प्रदर्शनीबाट हटाइएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वाङ्देलको २००२ मा मृत्यु भएको थियो ।
'चोरिएका भन्ने प्रमाणित भएदेखि नै हामी फिर्ता गर्न तयार छौं,' म्युजियममा नेपाल-तिब्बत सेक्सनकी चिफ क्युरेटर नटाली बाजिनले कान्तिपुरसँगको कुराकानीमा भनिन्, 'तर नेपालबाट पहलकदमी हुन नसक्दा प्रक्रिया अघि बढ्न नसकेको हो ।' गतवर्ष डिसेम्बरमा युनेस्कोद्वारा काठमाडौंमा आयोजित एक गोष्ठीमा सहभागी बाजिनले त्यहाँसमेत मूर्ति फिर्ता गर्ने जानकारी गराएको बताइन् । पेरिसस्थित युनेस्को मुख्यालय समेतको सहकार्यमा 'प्रोटेक्टिङ एसियाज् हेरिटेज' शीर्षकमा उक्त दुईदिने विचार गोष्ठी आयोजना गरिएको थियो ।
सन् २००० मा पुरातत्त्व विभागले फिर्ताको अनुरोधसहित संग्रहालयलाई पत्र पठाएको थियो । यसका लागि केही औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने जनाउँदै बाजिनले भनिन्, 'नेपालको राजनीतिक अस्थिरताका कारण पनि यसतर्फ ध्यान नपुगे जस्तो लाग्छ ।' मूर्ति म्युजियमको सम्पत्ति भए पनि फर्काउन दुई मुलुकबीच सरकारीस्तरमै पहल हुनुपर्ने उनको भनाइ थियो ।
पेरिसस्थित नेपाली दूतावासले सरकारले बेवास्ता गरेको भन्ने संग्रहालयको भनाइलाई अस्वीकार गरेको छ । 'विगतमा के भयो थाहा भएन, तर म्युजियमले फिर्ता गर्ने तत्परता देखाएपछि हामीले औपचारिक पत्र पठाउन अनुरोध गरेका छौं,' चार महिनाअघि संग्रहालयमै पुगी मूर्ति हेरेको बताउँदै फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले भने, 'पत्रको पर्खाइमा छौं, प्राप्त हुनासाथ फिर्ती प्रक्रिया अघि बढाइने छ ।'
संग्रहालयले सन् २०१६ को अन्तसम्म मूर्ति नेपाल फर्काउने योजना रहेको जनाएको छ । फिर्ता पठाइनुअघि अन्तिम पटक सर्वसाधारणका लागि प्रदर्शन गरिने क्युरेटर बाजिनले बताइन् । 'यतिका वर्ष हामीसँग रहेकाले किन फर्काइँदै छ भन्नेबारे फ्रान्सेली जनताले थाहा पाउनु आवश्यक छ,' बाजिनले प्रस्ट्याइन्, 'यसका लागि २०१६ मार्चमा नेपालसम्बन्धी एउटा भव्य कलाकृति प्रदर्शनी गर्ने योजनामा छौं ।' सन् १९६६ मा राजा महेन्द्रको पेरिस भ्रमणताका फ्रान्समा पहिलो पटक नेपालीसम्बन्धी एकल प्रदर्शनी भएको थियो । नेपाली कलाकृति प्रदर्शनी भएको ५० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१६ को योजना बनेको समेत उनले खुलाइन् । 'यो नै मूर्ति फिर्ता पठाउने राम्रो अवसर हुनेछ,' उनले थपिन् ।
'पछिल्लो समय कम्बोडिया, थाइल्यान्ड लगायतका मुलुकबाट चोरिएका मूर्ति फिर्ता भइरहेकाले यो अवसरलाई नेपालले पनि सदुपयोग गर्न सक्नुपर्छ,' प्राध्यापक डिना वाङ्देलले चोरिएका सम्पदा विश्वभर छरिएको बताउँदै कतारबाट टेलिफोनमा भनिन्, 'फिर्ताको पहल नगर्ने हो भने कुनै दिन हाम्रो चिज हेर्न विदेश धाउनुपर्ने अवस्था आउन सक्छ ।' भर्जिनिया कमनवेल्थ युनिभर्सिटी दोहा-कतारमा आर्ट-हिस्ट्रीकी एसोसिएट प्रोफेसर र निर्देशक यिनी लैनसिंह वाङ्देलकी छोरी
हुन् । 'युनेस्को निर्देशिकामा चोरिएको प्रमाणित भए सम्बन्धित मुलुकमा फर्काउनुपर्ने स्पष्ट उल्लेख छ', गतवर्ष युनेस्कोद्वारा काठमाडांैमा आयोजित गोष्ठीमा समेत सहभागी डिनाले थपिन्, 'नेपाली सम्पदा फिर्ता गर्न युनेस्कोको पनि दबाब छ ।' कलासंस्कृतिका लागि विश्वविख्यात फ्रान्सजस्तो मुलुकले मूर्ति फिर्ता गरे यसले अरूमा पनि दबाबमूलक सन्देश पुग्ने उनको भनाइ थियो ।
चोरिएका दुवै मूर्ति संग्रहालयले लन्डनस्थित छुट्टाछुट्टै ग्यालरीबाट किनेको जनाएको छ । शिव-उमा कैलाश पर्वतमाथि बसेको ७६ सेन्टिमिटर अग्लो मूर्ति सन् १९८५ नोभेम्बरमा लन्डनस्थित पिंक ग्यालरी र लक्ष्मी-गरुडाको बीचमा विष्णु उभिएको ७४ सेन्टिमिटरको अर्को मूर्ति १९८६ मा एडरिन ग्यालरीबाट किनिएको हो । मूर्ति असीदेखि एक सय किलो तौलका छन् । त्यो बेला म्युजियमले एउटाका लागि करिब २० हजार युरो तिरेको थियो । सन् १८८९ देखि सञ्चालनमा आएको गिमेट म्युजियम एसियाली कलाकृति प्रदर्शित फ्रान्सकै सबैभन्दा ठूलो संग्रहालय हो । यहाँ शताब्दीऔं अघिका करिब ६० नेपाली कलाकृति संग्रहित छन् । यीमध्ये व्यक्तिगत संग्रहकर्ताका उपहार र कतिपय संग्रहालयद्वारा किनिएको जनाइयो । दुई मूर्तिबाहेक अरूमा भने कुनै किसिमको गुनासो नआएको म्युजियमको दाबी छ । नेपालबाहेक यहाँ भारत, चीन, तिब्बत, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, भियतनाम, कोरिया, जापानलगायत मुलुकका कलाकृति प्रदर्शित छन् ।
|
0 comments
Post Your Comments :