एकबर्षभित्रमा जसरी पनि संविधान बन्छःनेम्वाङ
|
इलाम,चैत१०–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एक वर्षभित्रमा संविधान निर्माण गरी छाड्ने दाबी गरेका छन् ।
“संविधान निर्माणकोे आधार तयार भएकाले संविधान बन्छ”उनले भने,“सबै दल र पार्टी यस कार्यमा अघि बढ्नुपर्छ । संसद् नियमावली तयार भइसकेकाले संविधान बन्ने आधार तयार भएको छ ।”
निर्माणाधीन इलामको फाल्गुनन्द सुकिलुम्वा विमानस्थलमा आज बिहान आयोजित पत्रकारसम्मेलनमा उनले सरकारले मनोनीत गर्ने २६ जनामा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट छुटेका विशेषज्ञलाई संविधानसभामा लैजानुपर्नेमा जोड दिए ।
फाल्गुनन्द सुकिलुम्वा विमानस्थलले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गर्दै उनले भने,“तल्लो तहमा भन्दा पनि माथिल्लो तहमा यसको चर्चा बढी भएको छ, चाँडै निर्माण सम्पन्न गर्न दृढछौँ ।” पर्यटनमन्त्रीसँग विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गर्ने सन्दर्भमा छलफल भई सकारात्मक रूपमा अघि बढिरहेको नेम्वाङले बताए ।
|
0 comments
Post Your Comments :