झापा र मोरङबाट ८० हजार भुटानी शरणार्थी तेस्रो मुलुक

काठमाडौं, १२ चैत । झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ । झण्डै अढाइ दशकदेखि शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको हो ।
आइओएमले पुनःस्थापना कार्यक्रमअन्तर्गत विगत सात वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुकमा पठाउँदै आएको छ । सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो । ८५ हजार छ सय ५१ जना भुटानी शरणार्थी उक्त  देश पुगिसकेका छन् । गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा चार हजार आठसय १९, क्यानाडामा पाँच हजार सातसय ७८, डेनमार्कमा आठसय ५२, नेदरल्याण्डस्मा तीनसय २६, नर्वेमा पाँचसय ५० जना शरणार्थी पुनःस्थापित भइसकेका छन् । ती राष्ट्रले शरणार्थीको स्थायी व्यवस्थापन गरेका छन् भने बाँकीलाई पनि क्रमशः आश्रयदातृ देशमा पु¥याइनेछ । आइओएमले पुनःस्थापना प्रक्रियालाई जारी राखेको छ ।
प्रारम्भमा एक लाखको हाराहारीमा रहेका शरणार्थीको सङ्ख्या दुई दशकको अवधिमा आठ हजारले वृद्धि भएको हो । नेपाल र भुटानबीच विभिन्न तहमा १५ चरणमा भएका शरणार्थी समस्या समाधानसम्बन्धी वार्ता असफल भएपछि अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम कार्यान्वयन भएको हो ।
स्वस्फूर्तरुपमा उक्त कार्यक्रममा सहभागी भएका शरणार्थीमात्र ती देश गएका हुन् । शिविरमा रहेका अधिकांशले अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहो¥याउँदै आएका छन् । वि.सं.२०६३ मा नेपाल आइओएमको सदस्य भएको हो ।
सरकार र उक्त सङ्गठनबीच २०६४ मा पारस्परिक सहयोग तथा सेवा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको थियो । त्यसै वर्षदेखि आइओएमले आप्रवासका विविध पक्षमा सरकारसँग सहकार्य गर्दै आएको छ ।

0 comments

Post Your Comments :