प्रमुख तीन दलको बैठक भोलि पुनः बस्ने गरी सकियो

|
प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमति र सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका लागि हिजोदेखि सुरु भएको बैठकमा छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ ।
नेताहरूले संविधान निर्माण र निरन्तर संवाद तथा छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने र शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने सहमति गरे पनि आज समयको अभावका कारण निर्णयमा पुग्न नसकिएको बताउनुभएको छ ।
बैठकमा शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा सौहाद्रपूर्ण छलफल भएको जानकारी गराउनु हुँदै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भन्नुभयो– “विगतमा भएका सहमतिको कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सकारात्मक छलफल भयो । संविधान सभाको निर्वाचनमा एनेकपा माओवादीले उठाएको प्रश्न सम्बोधन गर्न र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको छ त्यसलाई भोलि बिहान ८ बजे बस्ने बैठकले टुंगो लगाउने छ ।
बैठकमा तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग निर्माण गर्ने सम्बन्धमा सहमति भइसकेको जानकारी गराउनु हुँदै एनेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीले भन्नुभयो– “बाहिर आएका सम्पूर्ण विषयमा सकारात्मक छलफल भएको छ, समयको अभावले बाँकी रहेका विषयमा भोलि बस्ने बैठकले यी सबै विषयमा टुङ्गो लगाउने छ ।” बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

|
0 comments
Post Your Comments :