संघीय समाजवादी पार्टी फुट्यो : गोपाल ठाकुरसहितका तीन नेताद्वारा पार्टी परित्याग


 २२ चैत, काठमाडौं । उपाध्यक्ष गोपाल ठाकुरसहितका तीन नेताले संघीय समाजवादी पार्टी परित्याग गरेका छन् । उपाध्यक्ष ठाकुर, स्थायी समित सदस्य जोगीलाल यादव र केन्द्रीय सदस्य अनिलकुमार मिश्रले पार्टी अध्यक्ष अशोक राईलाई पत्र लेखेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीहरुले पार्टीमा आदिवासी जनजातिभित्रको केही सीमित जाति र त्यसका पनि केही व्यक्तिको स्वेच्छाचारिता चलेको आरोप लगाएका छन् । ‘यो पार्टीमा राई र लिम्बुको बाहेकको हातमा यो पार्टी जाँदैन । अरु समुदायमा नेतृत्व दिने नियत नरहेकाले के बसिरहनु भनेर डोरी चुँडाएका हौं’ ठाकुरले  भने ।
ठाकुर, रिजवान अन्सारी, जोगीलाल र अनिलकुमारले सातबुँदे माग राख्दै पुस १७ गते राजीनामा दिएका थिए । चारै नेता त्यसबेलादेखि पार्टीको बैठकहरुमा समेत गएका छैनन् । आफ्ना मागबारे पार्टी नेतृत्व गम्भीर नभएकाले पार्टी छाड्ने निष्कर्षमा पुगेको ठाकरले बताए ।
चार नेताले पार्टीको नेतृत्वमा पाँच जातिको आलोपालो हुनु पर्ने, समुदायगत संगठन बनाउने निर्णय कार्यान्वयन हुनु पर्नेसहितका माग राखेका थिए । ‘अध्यक्ष अशोक राईले आफ्नो अनुकुल पर्दा विधानलाई काखमा राखेर जे पनि गर्ने, नभए विधानलाई देखाएर महाधिवेशनमा लैजाने भन्नुभयो’ ठाकुरले भने-’मधेसी संगठनको अवधारणा बनाएर लगेँ तर, पार्टीका केही साथीहरुले यो त अखण्डताकै लागि बाधक भन्ने कुरा गर्नुभयो ।’

पार्टी परित्याग गर्नेहरुले समानुपातिक प्रणालीमा पार्टीले पाएको पाँच सिटमा सभासद छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । साथै संविधानसभामा गएका अध्यक्ष राईको भूमिकाप्रति असन्तुष्ट जनाएका छन् । ठाकुरले भने-’संविधानसभा सुरु भएको दुई महिना भइसक्यो तर, हाम्रो पार्टीले के गरेको छ थाहा छैन । कसले कसले के भन्यो भन्ने आउँछ तर, अशोक राईको केही आउँदैन । उहाँले माखो मारेर बन्नु भएको छ कि के हो ?’

0 comments

Post Your Comments :