धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।
धरान प्रवेश गरेपछि शाहले लांघाली चोकदेखि वरगाछीसम्म पैदल यात्रा गरेर शुभेच्छुकहरूलाई भेटे। उनको स्वागतमा राप्रपा नेपालका कार्यकर्ता र शाहीकालका सहयोगीहरूले राम्रै तयारी गरेका थिए। लांघाली चोकदेखि नै सडकमा रेडकार्पेटसमेत बिछ्याइएको थियो। शाह गाडीबाट उत्रनेबित्तिकै समर्थकहरूले उनको जयजयकार गरेका थिए। सहयागी एव समर्थकका साथ ३ दर्जनभन्दा बढी गाडीको लस्करसहित धरान आएका उनको पैदल यात्राका क्रममा सडकमा घुइँचो हुँदा आधा घन्टा सवारी जाम भएको थियो।
सुनसरीको चतराधाममा जारी कुम्भ मेलामा सहभागी आएका शाहले वरगाछीस्थित सिद्धिदात्री भगवती मन्दिरमा पसेर केहीबेर पूजासमेत गरे। सोमबार उनी धरानमै रात बिताएर मंगलबार बिहानै चतराधाम जानेछन्। कुम्भमेलामा शाहलाई अभिनन्दन गरिनेर बराहक्षेत्रस्थित कोका र कोसी नदीको संगममा पुगेर 'शाही स्नान' गर्ने उनका सञ्चार संयोजक सहयोगी अस्मिता भण्डारीले जानकारी दिइन्।
उनका अनुसार सिमराबाट धरान आइपुग्नुअघि शाहले सर्लाहीको चर्तुभुजेश्वर महादेवको पनि दर्शन गरेका थिए। लहान, इनरुवा, झुम्का, इटहरी, तरहरालगायत स्थानमा पनि उनको स्वागत गरिएको थियो। मंगलबार 'शाही स्नान' सकेर फर्केपछि शाहले धरानस्थित पिण्डेश्वर मन्दिरमा दर्शन गर्ने र धरान–१५ श्यामचोकमा एक बौद्ध गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको भण्डारीले बताइन्।
आफ्नो स्वागतमा उभिएका शुभेच्छेकसँग कुरा गर्दै ज्ञानेन्द्र शाह।

0 comments

Post Your Comments :