बिहेको एकदम नजिक पुगेको छु, अब साँच्चिकै श्रीमान् बन्दै छु : राजेश हमाल (अन्तर्वार्ता)

राजेश हमाल, नेपाली चलचित्रका ‘महानायक’ । विगत २५ वर्षदेखि निरन्तर उनी यस क्षेत्रमा सक्रिय छन् । ‘युगदेखि युगसम्म’बाट सुरु भएको उनको फिल्मीयात्रा अझै जारी छ । पछिल्लो समयमा नाटकमा समेत उत्रेका उनले त्यसबाट पनि राम्रै तारिफ बटुले । फिल्म निर्देशन आफ्नो रुची भएको बताउने अभिनेता हमालले आफू चाँडै नै विवाह बन्धनमा बाँधिन लागेको खुलासा समेत गरेका छन् ।

केमा व्यस्त हुनुहुन्छ हिजोआज ?
केहीअघि दुईवटा फिल्म सकें । हँसिया र मुखौटा । हालै चाँही टिभीको ‘क्वीज कन्टेस्ट’मा व्यस्त छु । अलिअलि भ्रमण पनि गर्दैछु ।

हँसिया कस्तो चलचित्र हो ?
‘हँसिया’ नामले विभिन्न अर्थ लाग्न सक्छ । हँसिया भन्ने बितिक्कै एकदम परम्परागत नेपाली चलचित्र हो कि भन्ने पनि लाग्छ । या हँसिया खेती–किसानीको कथा हो कि जस्तो पनि लाग्छ । तर, यो पृथक छ । यो रहस्यमय कहानीमा आधारित, आधुनिक चलचित्र हो । एउटा व्यक्तिले विभिन्न किसिमका आपराधिक गतिविधिहरु गरिरहेको हुन्छ, अपराध गर्न उसले प्रयोग गर्ने एउटा अस्त्र हुन्छ, त्यो चाँही हँसिया हुन्छ । त्यसकै वरिपरि पूरा चलचित्र घुमेको छ ।

मुखौटा ?
‘मुखौटा’ अहिलेको समसामयिक, आधुनिक कथा हो । विशेषगरि ठमेलको वरिपरी घुमेको छ यसको कथा । ठमेलमा माथि सतहमा देखिने भन्दा सतहमुनि हुने गतिविधिहरु भिन्न हुन्छन् भनिन्छ, त्यसैलाई दर्साउन खोजिएको छ । अर्थात् ‘अन्डरवल्र्ड टाइप’को । यसमा सबै चरित्रहरु त्यस्तै किसिमका छन् । अन्डरवल्र्ड एक्टिभिटी सञ्चालन गर्छन्, त्यही किसिमका क्यारेक्टरहरु निर्माण गरिएका छन् । मेरो चरित्र पनि त्यस्तै नै हो, ‘डन’ किसिमको ‘क्यारेक्टर’ । एउटा डन र अर्को डनका बीचमा कस्तो किसिमको सम्बन्ध हुन्छ ? कस्ता किसिमका खिंचातानी हुन्छन् ? द्धन्द्ध, ईश्र्या या मेलमिलाप हुन्छन् ? ती सबै पक्षहरु फिल्ममा देखाइएको छ ।

हँसियामा तपाइँको भूमिका कस्तो छ ?
हँसियामा म एउटा सिआइडी अफिसरको भूमिकामा छु । समाजमा ‘क्राइम’हरु भइरहेका हुन्छन्, त्यो क्राइमको पछाडि म लागिरहेको हुन्छु । त्यसैबीचमा मेरो चरित्रमा एक किसिमको मोड आउँछ । त्यो मोड कस्तो र कसरी आउँछ ? त्यसको लागि चलचित्र नै हेर्नुपर्छ ।

कति समय बिताउनुभयो चलचित्र क्षेत्रमा ?
२५ वर्ष टेक्यो । थाहा नै नपाइकन बित्यो । हिजो जस्तो लाग्छ ! हिजो नै जस्तो नवकलाकारको रुपमा आएको जस्तो लाग्छ, ‘युगदेखि युगसम्म’मा । नयाँ प्रतिभाको रुपमा अवार्ड थापेको पनि हिजोजस्तै लाग्छ । २५ वर्ष बितिसकेछ ! व्यस्त हुँदा ‘टाइम’ गएकै थाहा हुँदैन । एक वर्ष एकै दिनमा गा’को जस्तो ‘फिल’ हुँदो रहेछ ! सिनेमाको सुटिङ हुँदा प्रत्येक दिन हामी काम गरिरहेका हुन्छौं । छुट्टी भन्ने हुँदैन । न दिन, न रात, न चाड, न वाड ! पहिलो १५ वर्ष त मेरो त्यसैगरि नै बित्यो ।

‘युगदेखि युगसम्म’ले तपाइँको जीवनमा नै परिवर्तन ल्यायो ?, यो चलचित्रमा तपाइँको प्रवेश कसरी भयो ?
यसको छोटो पृष्ठभूमि छ । मेरो मामा, स्वर्गीय दीपकजंग रायमाझी । उहाँ रुसबाट निर्देशन पढेर आउनुभएको थियो र उहाँले ‘युगदेखि युगसम्म’ भन्दा अगाडि एउटा फिल्म बनाउनुभएको थियो, ‘भाग्यरेखा’ । जसमा उहाँले मलाई नै लिनुभएको थियो । म पनि चलचित्रमा ‘एक्टिङ’ गर्न ‘इन्ट्रेस्टेड’ छु भन्ने थाहा पाएपछि उहाँले–‘राजु, (घरका परिवार सबैले माया गरेर मलाई राजु भन्छन्) म चलचित्र बनाउँदै छु । तिमी पनि इन्ट्रेस्टेड रहेछौ, खेलौन त’–भन्नुभयो, खेलें । तर, संयोगवश भाग्यरेखा मैले पूरा गर्न सकिन । ८–१० दिनको सुटिङ गरिसकेपछि म र फिल्मकी नायिका (कृष्टि मैनाली)ले त्यसमा काम गरेनौं । त्यस्तै केही ‘मिस अन्र्डरस्ट्याडिङ’हरु हुन गयो । त्यसपछि अरु दुई नायक–नायिका लिएर त्यो चलचित्र बनाइयो ।

त्यो समय त्यतिक्कै गयो । त्यो बेला म भारतमै बस्थें, मेरो बुबा–मुमाहरु भारतमै बस्नुहुन्थ्यो, नयाँ दिल्लीमा । डेढ/दुई वर्ष उता बसिसकेपछि फेरि नेपाल आएँ । त्यतिबेला पनि फेरि मामा दीपक रायमाझीले नै प्रस्ताव लिएर आउनुभयो र भन्नुभयो–‘पहिलो चलचित्र त्यस्तै भयो । म अर्को चलचित्र बनाउँदैछु, ‘युगदेखि युगसम्म’ यसमा खेल्ने हो ?’ । संयोगवश त्यसमा पनि नायिका लगायत भाग्यरेखाको ‘पहिला’को सम्पूर्ण टिम त्यही नै जुट्यौं, हुबहु । हामीले काम गर्‍यौं । त्यसपछिको इतिहास त छर्लङ्गै छ ।

चलचित्रमा तपाइँको प्रवेशप्रति परिवारको सपोर्ट थिएन भन्ने सुनिंदै आएको छ, सही हो ?
सही हो । आज भन्दा २५ वर्ष अगाडि (आजको घडीमा त विभिन्न किसिमको अन्यौलता छ) झनै अन्योलमा थियो, नेपाली चलचित्र । जतिसुकै उत्कृष्ट काम गरे पनि चलचित्र बन्ने माहोल नै भएन, चलचित्र नै बनेन भने व्यक्ति त अगाडि बढ्न सक्दैन । त्यही स्थिति थियो नेपाली चलचित्रको । दुई वर्षमा एउटा, तीन वर्षमा दुईवटा चलचित्रहरु बन्थे । धेरैजसो कलाकारहरुले आफ्नो ‘हवी’का रुपमा चलचित्र खेलिरहेका हुन्थे । त्यही अवस्थालाई देखेर बुबा–आमाले ‘न भविष्य छ, न के छ ?, कस्तो क्षेत्रमा लागेको भनेर ?’ असहमति जनाउनुभएको थियो । त्यो स्वभाविक पनि थियो, उहाँहरुले मलाई पालन–पोषण गर्नुभयो । शिक्षा दिनुभयो । त्यो हिसावले चाँही उहाँहरुको सपोर्ट नभएको हो । तर, कलाकारितामै उहाँहरुको नकारात्मक सोंच भने थिएन । छोरा उत्पादनशील क्षेत्रमा लागेन भन्ने त्यतिबेला उहाँहरुको चिन्ताको विषय थियो ।

तर, ममा भित्रि इच्छा थियो । मानिसमा एउटा–एउटा भित्रि इच्छा हुन्छ र त्यसलाई परिपूर्ति गर्न चाहन्छ, माहोल जस्तोसुकै भएपनि । चलचित्रमा आउनु अगाडि मैले बुबासँग अनुरोध गरेको थिएँ–‘म यसमा ‘ट्राइ’ गर्न चाहन्छु, हेर्न चाहन्छु । के हुन्छ, के हुँदैन ? एक/दुई वर्ष हेरौं । राम्रो हुने भए गरिरहुँला, अन्यौलता नै छ, अगाडि केही भएन, चलचित्र क्षेत्र पनि अगाडि बढेन, मेरो आफ्नो करियर पनि बनेन भन्ने भएछ भने एक/दुई वर्षपछि अरु केही गरौंला, उमेर छ मेरो ।’ शिक्षाको पृष्ठभूमि त छँदै थियो मेरो, उमेर पनि थियो त्यतिबेला ।

युगदेखि युगसम्म गरिंरहँदासम्म पनि मलाई लागेको थिएन कि म यसरी निरन्तर २५ वर्षसम्म लागिरहन्छु भनेर । त्यो बेलामा मुस्किल थियो । तर, जब युगदेखि युगसम्म फिल्म रिलिज भयो । त्यसपछि मेरो आफ्नो करियर र नेपाली चलचित्र क्षेत्रको विस्तार सँगसँगै भयो, मलाई त्यस्तो लाग्छ । जसोजसो मेरो करियर अगाडि बढ्दै गयो, त्यसैगरि नेपाली चलचित्र क्षेत्र पनि विस्तार हुँदै गयो । हामी समानान्तर रुपमा अगाडि बढ्यौं ।

चलचित्रमा अन्याय र अत्याचारका विरुद्धमा निकै काम गर्नुभयो,‘रियल लाइफ’मा त्यसको प्रभाव पर्छ कि पर्दैन ?
सुरुवातका दिनहरुमा मैले त्यस्ता चरित्रहरु धेरै गरें । त्यस्तो चरित्र, जो अन्याय खप्न नसक्ने । थिचोमिचो खप्न नसक्ने । विभिन्न सामाजिक मुद्दाहरु उठाउने । सम्बन्धित व्यक्तिहरुलाई त्यो असाध्यै रुचीको विषय हुन्छ । जुन समुदाय थिचोमिचोमा परेको छ, जो व्यक्ति अन्यायमा परेको छ, उहाँहरुलाई त्यो चरित्रले ह्रदयमा छुन्छ । त्यो वर्गमा नपर्नेहरुलाई भने अचम्म पनि लाग्छ । किन यसले ‘हे हे’ मात्रै भनिरहेको छ ?

अन्याय, थिचोमिचोमा पर्नेहरुलाई भने त्यो ‘हे’को गहिरो अर्थ हुन आउँछ । त्यतिबेलाका नेपाली युवाहरु जो हुनुहुन्थ्यो, सायद उहाँहरुलाई लाग्थ्यो त्यो पात्रले हाम्रै आवाज बोलिरहेको छ । जुन आवाज बोल्ने हामीले कुनै ‘प्लाटफर्म’ पाइरहेका छैनौ, विभिन्न कारणवश हामीले हाम्रो आवाज बोल्न सकिरहेका छैनौ, त्यही कुरा ‘शंकर’ले बोलिरहेको छ भन्ने सायद उहाँहरुलाई हुन्थ्यो । सायद त्यही कारण एउटा अद्भूत ‘कनेक्सन’ दर्शक र मेरोबीच हुनगयो ।

कलाकारले जुन चरित्रहरु निर्वाह गर्छन्, त्यसलाई चटक्कै बिर्सन्छन् भन्ने हुँदैन । त्यस्ता चरित्र कुनै न कुनै रुपमा मन, मष्तिस्कमा रहिरहन्छन् । धेरै रोलहरु मैले गरें–‘भरिया’, ‘कान्छा’, ‘गाउँले’, ‘एक नम्बरको पाखे’ । ती चरित्रहरुले रियल लाइफमा पनि कहिँ न कहिँ असर पारिनैरहेको हुन्छ । धेरै वर्ष त्यस्तै गरिरहँदा जीवनको एउटा हिस्सा बन्न आउँदा रहेछन् ती चरित्रहरु । र, केही गर्नैपर्छ कि भन्ने एक किसिमको सोंच चाँही पलाउँदो रहेछ । रियल लाइफमा पनि त्यसको असर चाँही पर्दोरहेछ ।

तपाइँले काम गरेका चलचित्रहरु मध्येबाट तपाइँलाई मन परेका चलचित्रहरुको नाम लिनुपर्दा ?
धेरै चलचित्रहरु छन्, जुन मेरो ह्रदयको नजिक छन् । ‘युगदेखि युगसम्म’, जसले मेरो इतिहास रचिदियो । त्यस्तै ‘देवता’, सामाजिक मुद्दा उठाएका चलचित्रहरु । ‘सीमाना’ । ‘परिभाषा’ । यी त्यो बेलामा अलिकता अलगधारका पनि थिए । त्यस्तै, डायमण्ड शम्शेरको उपन्यासमा बनेको ‘बसन्ती’ । जुन आम चलचित्र भन्दा अलि पृथक थियो । पछिल्लो समयमा ‘तीन भाइ’ गरें, जसलाई दर्शकहरुले धेरै नै रुचाउनुभयो ।

अहिलेसम्म गर्नुभएका अभिनयहरुबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एउटा कलाकारले मैले गरेका कामहरुबाट म पूर्ण रुपमा सन्तुष्ट छु भनेर त बिरलै कसैले भन्ला ! म भन्दा महान्–महान् कलाकारले पनि सायद नभन्लान् जस्तो लाग्छ । मैले यो २५ वर्षमा विभिन्न चरित्रहरु निर्वाह गरें, २ सय ५० वटा चलचित्रहरुमा अभिनय गरें । अहिले अब एकदमै सन्तुष्ट भएँ, जेजे गर्ने हो गरिसकें भन्ने स्थितिमा चाँही म छैन । म अझै पनि यस्तो स्थितिमा छु, जहाँ मैले अझै गर्नुपर्छ । अझ गर्छु भन्ने पनि छ ।

अर्को कुरा चलचित्र/कलाकारिता भनेको समाज जस्तो रुपले परिवर्तन हुँदै जान्छ, त्यस्तै रुपले त्यसको विषयवस्तु, तौरतरिकाहरु परिवर्तित हुँदै जान्छन् । १० वर्ष अगाडि मैले गरेको राम्रो कामले थेगिरहेको छ, त्यही राम्रो कामबाट म अगाडि बढ्छु भनेर हुँदैन रहेछ । आफूलाई आजको घडीमा फेरि अपडेट गरेर, आजको स्वाद, बद्लिंदो मागलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने सोंच्नुपर्छ । कलाकारले समय अनुसार आफूलाई परिवर्तित गर्दै, परिमार्जित गर्दै अगाडि बढ्नुपर्छ ।

तपाइँलाई महानायकको उपाधि दिइएको छ, यो उपाधिप्रति तपाइँको चाँही धारणा कस्तो छ ?
उपाधि पाउँदा कसलाई खुशी लाग्दैन र ? केही काम गरेपछि उपाधि मात्रै होइन, कसैले आएर पिठ्युँमा धपधपाएर ‘राम्रो काम गरिस्’ भने मात्र पनि खुशी लाग्छ । उपाधि भनेको हामीलाई काम गरेबापत दिइने स्याबासी हो । त्यसैलाई म यही नै हो भनेर गम्भीरतापूर्वक लिन जरुरी छैन । तर, उपाधिप्रति खुशी लाग्नु चाँही स्वभाविक नै हो । महानायक भने पनि सुपरस्टार भने पनि हामी सबैजना कलाकार नै हौं । हामीले कलाकारको कर्तव्य नै निर्वाह गर्ने हो ।

पछिल्लो पटक नाटकमा पनि अभिनय गर्नुभयो, कस्तो रह्यो अनुभव ?
धेरै रमाइलो भयो । व्यवसायिक रुपमा भन्दा पनि मनको सन्तुष्टिको लागि गरेको हुँ मैले । नाट्यकर्मीहरुसँग मेरो उठबस भइनै रहन्थ्यो । उहाँहरुले ‘चलचित्र धेरै गरिसक्नुभयो तपाइँले, नाटकमा पनि ट्राइ गर्नुस् न’ भन्नुहुन्थ्यो । तर, म अत्यन्तै व्यस्त हुन्थे । चलचित्र जस्तो होइन नाटक, नाटकको प्राक्टिस र रिहर्सललाई महिनौंको समय दिनुपर्ने हुन्छ । त्यो समय मैले दिन सकिरहेको थिइँन । संयोगवश ‘कोर्टमार्शल’को अफर आयो । मैले स्क्रिप्ट हेरैं, अत्यन्तै राम्रो लाग्यो । र, नाटक गरें । असाध्यै रोचक लाग्यो । नाटक गर्दा मनको सन्तुष्टि हुँदो रहेछ । एउटा सच्चा कलाकारलार्ई चलचित्रमा भन्दा बढ्दा तृप्ति हुँदो रहेछ नाटकमा ।

तपाइँभित्रको अभिनय क्षमता निर्माता–निर्देशकले चलचित्रमा उतार्न नसकेर नाटकमा जानुभएको त होइन ?
(हाँसो) । हाम्रा चलचित्रहरुमा कलाकारिता गर्ने व्यक्ति तृप्त हुने अवस्था कमै छ । चलचित्रमा विभिन्न चरित्रहरुलाई विभिन्न कोणबाट प्रस्तुत गर्ने अवसर न्यून हुन्छ । हामी व्यवसायिक चलचित्रहरु नै बनाउँछौं । त्यसमा केही सामाजिक सन्देश पनि हुन्छ । तर, विशेषगरि त्यसलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिन्छ । त्यो हिसावले विभिन्न सम्झौताहरु पनि हुन्छन् । नाटकमा मात्र आफ्नो अभिनय, पात्रप्रति केन्द्रित भइन्छ । चरित्रमा बढी डुबिन्छ । र, प्रतिक्रिया पनि रंगमञ्चमा तत्कालै पाइन्छ । कि ताली पाइन्छ, कि गाली खाइन्छ । यसले गर्दा चुनौती पनि त्यतिक्कै हुन्छ । जीवन्त अभिनय गर्न पनि उतिक्कै जरुरी हुन्छ नाटकमा । पात्रकै आवरणमा महिनौंसम्म बसिरहनुपर्ने पनि हुनसक्छ ।

महानायक राजेश हमालको अर्धाङ्गिनी बन्ने सौभाग्य नेपाली महिलाले पाउँदैनन् कि के हो ?
(लामो हाँसो) । नेपाली महिलाको श्रीमान् बन्ने सौभाग्य चाँही मैले पाइरहेको छैन भन्नुपर्ला जस्तो लाग्यो मलाई (हाँसो) । नेपाली महिलाले ख्याल गरिदिनु पर्‍यो ! (हाँसो) । म तयार छु । त्यो सौभाग्य मलाई दिलाइदिनु पर्‍यो ! (हाँसो) ।

अब चाँही बिहेको एकदम नजिक पुगिरहेको छु म । मेरो यो अन्तर्वार्ता दुई महिनापछि लिनुभएको भए तपाइँले सायद यो प्रश्न सोध्ने मौका नै पाउनुहुन्न थियो ! अब दुई महिना जति पनि छैन भनौ । ‘डेट’ त मैले ‘फिक्स’ गरिसकेको छैन । तर, म तपाइँलाई यति चाँही भन्न सक्छु कि अब दुई महिना पनि छैन ।

अबको दुई महिनाभित्रमा राजेश हमाल कसैको श्रीमान् बन्दै छ ?
बन्दै छु, हो ।

पहिला–पहिला राजेश हमालले सडक बालबालिकालाई सहयोग गरेको निकै सुनिन्थ्यो, हिजोआज पातलो भएको हो ?
परिस्थिति अलिकति परिवर्तन भएको छ । मैले संघ–संस्था चलाएर त्यसरी सहयोग गर्ने होइन । सडकका बालबालिकाहरुसँग एउटा सम्बन्ध गाँसेर आफ्नै व्यक्तिगत तबरबाट मैले गर्न सक्ने गरेको हुँ । मेरो घर नजिक ठमेल एरियामा हुने सडक बालबालिकाहरुसँग पहिला–पहिला धेरै नजिक थिएँ म । कहिले–काँही राति त्यतिक्कै सडकमा सुतिरहनुभएका उहाँहरु सबैलाई गाडीमा राखेर विभिन्न ठाउँमा लैजाने, खानेकुरा खान दिने पनि गर्थे । कहिले घरमै लैजान्थे । सँगै बसेर भोज पनि खान्थ्यौं । तर, अहिले माहोल परिवर्तित छ । समय परिवर्तित छ । पहिले जस्तै सडक बालबालिकालाई अहिले गाडीमा राखेर हिंड्ने अवस्था पनि छैन । माहोल बिग्रिएको छ । आज भन्दा १५ वर्ष अगाडि जति निश्चल भावना थियो नेपाली समाजमा, अहिले त्यो भावना परिवर्तित भएको छ जस्तो लाग्छ मलाई । त्यही कारण अहिले त्यसो गर्न नसकिएको अवस्था हो ।

चलचित्र निर्देशकका रुपमा पनि आउने खबरहरु पनि सार्वजनिक भएका थिए नि ?
ढिलोचाँडो त्यो अवश्य पनि गरिन्छ । किनकि, म यही क्षेत्रको व्यक्ति हुँ । जीवन मेरो यही क्षेत्रमा नै बित्ने हो । कलाकार बन्यो भन्दैमा निर्देशन गर्नैपर्छ भन्ने त छैन । तर, मेरो चाँही त्यो रुचीको विषय पनि हो । त्यसैले म अवश्य गर्छु । तर, माहोल हेरिरहेको छु । नेपाली चलचित्रको माहोल चुनौतीपूर्ण पनि छ । आजको स्वादलाई सुहाउँदो किसिमको चलचित्र निर्देशन गर्ने चाँही धोको छ ।

चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, तपाइँलाई कस्तो लाग्छ यो भनाइ ?
यो सही नै हो । चलचित्रले समाजलाई हेरेर आफ्नो कथावस्तु रच्छ । दर्शकले फेरि चलचित्रमा भएका सामाग्रीहरु हेरेर त्यसको अनुकरण गर्छन् । त्यो एउटा सर्कल हो । चलचित्रकर्मीहरुले पनि समाजमा भएकै कुराहरुलाई हेरेर, कहिँ अतिरञ्जित गरेर, ड्रामाटाइज गरेर, कहिँ ग्ल्यामरस गरेर देखाउँछन् । दर्शकहरुले फेरि त्यही चलचित्रमा पस्केको सामग्री हेरेर आफ्नो जीवनशैलीमा अनुकरण गरिरहेका हुन्छन् ।

अहिलेका चलचित्रहरु समाजको ऐना बनिरहेका छन् ?
दर्शकहरुको विचार नै बद्लिदिन्छु भनेर कुनै पनि चलचित्र बनाइँदैन । कसैले हल्काफुल्का मनोरञ्जनका लागि मात्रै भनेर पनि चलचित्र बनाउँछन् । हेर्दाखेरि मनोरञ्जन भए पुग्छ भनेर पनि चलचित्र बनाइन्छ । कसैले सन्देशमुलक चलचित्र बनाउँछन् । कसैले–कसैले इतिहास, राजनीतिमा आधारित चलचित्र पनि बनाउँछन् । विभिन्न उद्देश्यले चलचित्र बनाइन्छ । कुन चलचित्रकर्मीले कुन उद्देश्यले चलचित्र बनायो भन्ने कुरा हो । हामीकोमा धेरैजसो चलचित्र मनोरञ्जनात्मक हिसावले नै बनाऔं भन्ने उद्देश्य राखिन्छ । चलचित्र भाषा, कला, संस्कृतिको उत्थानको लागि मात्रै पनि बनाइँदैन् । त्यसमा पैसाको लगानी हुन्छ । पैसाको लगानी भनेपछि व्यवसायको कुरा आउँछ । व्यवसायको कुरा आएपछि चलचित्र चल्छ कि चल्दैन भन्ने कुरा आउँछ । धेरै भन्दा धेरै व्यक्तिले हेर्छन् कि हेर्दैनन् भन्ने कुरा आउँछ । धेरैले हेर्नका लागि आम जनसमुदायको रुचीको विषयमा जानुपर्ने हुन्छ ।

यही कुराहरुलाई मध्यनजर गरेर नेपाली चलचित्र बनाइने गरिन्छ । यी कारणहरुले गर्दा गहिरो विचारधारा राख्ने नेपालीहरुलाई नेपाली चलचित्रले सम्बोधन गरिरहेको छैन । तर, दुःखको कुरा के छ भने त्यो आम दर्शकलाई पनि हामीले सही ढंगले सम्बोधन गर्न सकिरहेका छैनौं । हामीमा चुनौती प्रशस्त छ । हामीले दर्शकको स्वादलाई अध्ययन गर्नैपर्छ । बद्लिंदो समाजको रुची कस्तो छ भनेर अझै गहिराइमा गएर चलचित्र बनाउन सक्नुपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
हाम्रो यो राष्ट्र राजनीतिक, सामाजिक विभिन्न किसिमको चुनौतीमा छ । सबैलाई सचेत रहन अनुरोध गर्न चाहन्छु । आफ्नो विभिन्न विधा, क्षेत्र भएतापनि राष्ट्रप्रति पनि कहिँ न कहिँ सचेत रहनुस् । देशको गतिविधिमा ध्यान दिनुस् । तपाइँको आवाजबाट केही हुन सक्छ, कुनै न कुनै कोणबाट आवाज उठाउनुस् । त्यसबाट नयाँ नेपाल, नयाँ परिवर्तन हुन सक्छ जस्तो लाग्छ ।

0 comments

Post Your Comments :