मेरो अस्मिता लुटिँदा पनि आमा बुबा चुप लाग्नुभयो : बन्दना

मेरा पढ्ने लेख्ने उमेर, साथी भाइसँग खेल्ने उमेर । तर घरपरिवार तथा आफन्तका कारण यतिबेला नै बिहेबन्धनमा बाँधिनु पर्यो । यसो त पढे लेखेका शहरिया महिलाहरु पनि पुरुषको हिंसाबाट बन्चित छैन । महिला हिंसाका कारण कतिको जीवन नै बर्वाद भएको छ त्यसमध्येका म पनि एक अभागी हुँ ।

भिनाजुको हिंसाबाट जोगिनका लागि विहेको उमेर अगावै जो कोही पनि आफ्ना आमा बुवाको शरणमा जान्छन् तर भिनाजुबाट पिडित म आफ्ना आमा बुवालाई गुहार्दा उल्टै खाली खानु पर्यो । धनुषाबाट राम्रो शिक्षा दिक्षाका लागि काठमाडौस्थित मैतीदेवीमा आफ्नी दिदी (दीपा) र भिनाजु (बालेश्वर) सँग बस्न थाले । काठमाडौमा पढ्न पाएकोमा म औधी खुशी थिए । पहिला गाउँमा हुँदा काठमाडौको नाम सुनेका थिए ।

कस्तो हुँदो होला काठमाडौं सोच्दै थिए तर यसरी काठमाडौमा बसेर शिक्षा लिने मौका पाएकोमा म निकै खुशी थिए । मनमनै आफ्ना बुवा (योगेन्द्र यादव) आमालाई धन्यावाद दिन्थे र मलाई काठमाडौमा राख्ने जिम्मा लिनुभएका दिदी र भिनाजुलाई पनि ह्रदयदेखि धन्यवाद दिन्थे । काठमाडौको भीडमा समय कसरी वित्यो थाहै पाइन । यो भिडमा मलाई कसले–कसरी हेरिरहेका छन् बुझ्नै सकिन । सालीको नाताले भिनाजु मसँग जिस्किनु हुन्थ्यो । गाउँघरमा यो सामान्य कुरा नै हो र सहरको त कुरै बेग्लै । म भिनाजुको क्रियाकलापलाई नजर अन्दाज गर्दै गए आखिर म उहाँको साली न हो । तर विस्तारै विस्तारै भिनाजु हिंस्रक र वासनायुक्त व्यवहार देखाउन लागेको मैले महसुस गर्न थाले ।

दिदी नभएको बेलामा मसँग जवर्जस्ती गर्न खोज्नु हुन्थ्यो । जबर्जस्ती मेरा अंगहरु चलाउन खोज्थे । म कमजोर बेचारी निरिह आफूलाई बचाउन असफल प्रयत्न गर्थे । भोकाएको पिशाच जस्तै मलाई बेलाबेलामा झम्टिन खोज्नु हुन्थ्यो । कोठबाट दिदी एकछिन के बाहिर जानुहुन्थ्यो आफ्नो करतुत देखाउन थाल्नुहुन्थ्यो । पछि त मलाई घरमा बस्न नै डर लाग्थ्यो । दिदी कोठाबाट निस्किने वित्तिकै म पनि निस्कि हालौ जस्तो लाग्थ्यो ।

भिनाजु कही बाहिरबाट कोठामा आउने वित्तिकै मेरो मुटु काम्न थाल्थ्यो । भिनाजुले कुनै नकुनै बाहनामा मलाई बाहिर घुमाउन लैजाने बाहना गर्नु हुन्थ्यो । कतिपयमा इन्कार गर्थे भने कतिपयमा बाध्य भएर जानुपथ्र्यो । उहाँसँग बाहिर एक्लै भयो भने उहाँको व्यवहार भन्न साध्य छैन । भिनाजुको करतुत बारे मैले आफ्नी दिदीलाई पटक पटक भनेका थिए तर उहाँले मेरो कुरा पत्याउनुको साटो मलाई उल्टै गाली गर्नुहुन्थ्यो ।

मेरा कुरा पत्याउनु पनि कसरी, उहाँ पनि भिनाजुसँग प्रेमविवाह नै गर्नुभएको । उहाँ भिनाजुको क्रियाकलापबाट अनभिज्ञ हुनुहुन्थेन जस्तो लाग्यो तर किन बुझेर पनि बुझ पचाउनु हुन्थ्यो त्यो कुरा उहाँले नै जानुुन् । तर, यहाँ काठमाडौंमा आफ्नो सतित्व कसरी जोगाउ भन्ने चिन्तामा म हुन्थे । भिनाजुको हिंसा सहन नसकेर बुवालाई फोन गरेर सबै कुरा सविस्तार सुनाए । रोएर आफ्ना सबै व्यथा र पिडा सुनाए । बुवाले भिनाजुको पक्ष लिएर मलाई गाली गरेर चुप लागेर बस भन्नुभयो । बुवालाई भने, ‘बुवा मेरो अब केही बाँकी रहेन बाँकी रहेका प्लिज मलाई यहाँबाट लगदिनुस् ।’ तर मेरो एक सुन्नु भएन ।

भिनाजुकै पक्ष लिएर मलाई उल्टै गाली गर्नुभयो । आमालाई पनि सारा कुरा भने तर दिदी र भिनाजुको पक्ष लिएर उल्टै गाली गर्नुभयो । मेरो लागि दुनियाँ अन्धकार जस्तो भयो । म के गरुँ, के गरुँ जस्तो भयो । मेरो लागि यो संसारमा कोही छैन जस्तो लाग्यो । आफ्नो सतित्व जोगाउन कहाँ जाउँ जस्तो भयो । अब मलाई कसैमाथि विश्वास लाग्दैन्थ्यो । यता भिनाजुको हिंसा दिन दिनै बढ्दै गइरहेको थियो । काँग्रेसका नेता एवं सभासद् आनन्द ढुगानासँग काम गर्ने मेरा भिनाजु किन यति निर्दय बन्नुभयो मलाई थाह भएन । धनुषामा हुँदा यस्तो व्यवहार मैले कहिले पाइन ।

मेरो एकजना साथी हुनुहुन्थ्यो सिरहा विद्यानगरका रोशनकुमार यादव । उहाँसँग आफ्नो मित्रतालाई अगाडि बढाए । अब उहाँलाई आफ्नो सहाराको साथी ठाने । जन्म दिने आमा बुवा मेरो भएन । सधै सुखदुखमा साथ दिने दिदी पनि आफ्नो भएन । झन भिनाजु आफ्नो हुने कुरै भएन । म हिम्मत गरेर रोशनसँग आफ्ना सम्बन्धलाई गहिरो बनाउँदै गए । भिनाजुको शिकार हुनुभन्दा त रोशनसँग विहे गर्नु नै जाति भन्दै रोशनसँग २०७० आश्विन ५ गते विहे गरे । सप्तरीको राजदेवीलाई साक्षी राखेर विहे गरेका थियौ हामी । त्यसपछि केही दिन त्यही डेरा लिएर बसेका थियौं ।

रोशनसँग भागेर विहे गरेको कारण मेरो भिनाजुले अपहरण भएको हल्ला चारैतिर फैलाएर रोशनलाई दुःख दिने काम गर्नुभयो । सभासद्को आडमा प्रहरी प्रशासनलाई प्रभावमा पारेर हामीलाई पटक पटक दुःख दिने काम मेरो भिनाजुबाट भएको थियो । उहाँले प्रहरीको बलबाट रोशनबाट छुटाउन चाहनुभएको थियो । तर, हामी राजदेवीलाई साक्षी मानेर विहे गर्दा भनेका थियौ । जिउँछौ भने साथ मर्छौ भने साथ । तर कुनै पनि हालतमा एक अर्काबाट अलग हुनेछैनौ ।

हामीलाई छुटाउन निकै प्रयासहरु भयो । मलाई मात्र होइन कि मलाई विहे गर्नमा सहयोग गर्ने अन्य साथीहरुलाई पनि दुःख दिने काम उहाँबाट हुन्थ्यो । विहे गरेको कारण रोशनको घरपरिवार अनावश्यक टर्चर दिनुको साथै रोशनका साथीहरुलाई पनि धम्काउने काम भिनाजुबाट भएको छ । विभिन्न आरोप लगाएर प्रहरीबाट समात्न लगाउँथे रोशनका आफन्तहरुलाई । उमेर नपुगेको भन्दै मेरो भिनाजुले बन्दनालाई प्रहरीले अपहरण गर्यो भन्दै प्रहरीमा उजुरी नै हाल्नु भएको थियो । उमेर प्रमाणित गराउनका लागि सप्तरी जिल्ला अदालतमा निवेदन पनि गरेकी छु । सायद चाँडै नै उमेरको प्रमाणपत्र पाउनेछु ।

मैले आफ्ना आमाबुवा गुमाए पनि त्यतिकै असल आमावुवा पनि पाएको छु । रोशनका आमावुवाले मलाई निकै माया गर्नुहुन्छ । कुनै प्रकारको भेद्भाव ममाथि छैन । त्यसैले रोशनसँग नछुटिने कसम खाएको छु । म आग्रह गर्न चाहन्छु त्यो भिनाजुलाई कि तपाईले मसँग जे जस्तो व्यवहार गर्नु भो, गर्नु भो । म सहेर बसे । तर अब तपाईहरुबाट अलग भइसक्दा पनि मलाई कुनै प्रकारको दुख नदिनुस् । मलाई चयनले बाँच्न दिनुस् । भिनाजु, म बाँच्न चाहन्छु ।

0 comments

Post Your Comments :