युवा संघ बैठकमा झडप
काभ्रे, चैत्र २५ – एमालेनिकट युवा संघ नेपालको तेस्रो पूर्ण कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रममा झडप भएको छ । बैठकको समापनका दिन सोमबार संगठनमा सक्रिय नभएको भन्दै नौ केन्द्रीय सदस्यलाई अध्यक्ष महेश बस्नेतले कारबाही घोषणा गरेपछि झडपको स्थिति सिर्जना भएको हो । अध्यक्ष बस्नेतले बैठकमा अनुपस्थित भएको, संगठनमा सक्रिय नभएको भन्दै केन्द्रीय सदस्यहरू शेरबहादुर तामाङ, अर्जुन गुरुङ, सुमन बुढासहितलाई सदस्यबाट हटाउने घोषणा गरेका थिए । त्यस्तै, रुपेश शाक्य, गणेश थापामगर, विनिता ठाकुर, मोतिकला डाँगी, मनोहर बुढा र संगीता रजकलाई कारबाही घोषणा गरिएको छ । आफूहरूलाई सफाइको मौकै नदिई एकपक्षीय रूपमा हटाउने घोषणा गरेपछि झडपको स्थिति सिर्जना भएको उपाध्यक्ष दिलु पन्तले जानकारी दिइन् । ‘हामीलाई सफाइको मौका दिनुपथ्र्यो,’ पन्तले भनिन्, ‘एकैपटक नाम पढेर सुनाउँदै बिदाइ गर्न खोज्नु हँुदैन थियो ।’ कारबाहीको कारणबारे बुझ्न खोज्दा आफूहरूलाई कुटपिट गरेको दाबी तामाङ समूहले लगाएको छ । बस्नेतले केन्द्रीय सदस्यबाट बिदाइ दिएको पढेर सुनाएपछि स्वयंसेवकले नौजनालाई बाहिर निकालेपछि स्थिति थप असामान्य बनेको हो । सो क्रममा पर्शुराम बस्नेत र अर्जुन गुरुङबीच एक–अर्काबीच डनको आरोपप्रत्यारोप चलेको थियो । कारबाही सिफारिस गरिएका नौजनै यसअघि महेश बस्नेत समूहका हुन् । सचिव चन्द्र लामाले संविधानसभा निर्वाचनदेखि संगठनमा सक्रिय नभएको भन्दै कारबाही गरी बाहिर निकाल्न खोजिएको बताए । ‘केही साथीले संविधानसभादेखि संगठनमा समेत असहयोग गर्नुभयो,’ लामाले भने, ‘त्यसैले कारबाही गर्न खोजेका हाँै । स्वयंसेवकले कारबाही गरेकाहरूलाई बाहिर निकाल्न खोज्दा भनाभन भएको हो ।’ समापनको दिन बस्नेतले २० प्रतिशत (३० जना) मनोनयन गरेका थिए । यसमा माधव नेपाल र केपी ओली पक्षबीच १५÷१५ जना भागबन्डा गरिएको थियो।
0 comments
Post Your Comments :