National
»
प्राधिकरणका ३३ हजार ग्राहक कालोसूचीमा
प्राधिकरणका ३३ हजार ग्राहक कालोसूचीमा
काठमाडौं, चैत्र २४– बिजुलीको बिल भुक्तानी नगर्ने विद्युत् प्राधिकरणका ३३ हजार ६ सय ६० ग्राहक कालोसूचीमा परेका छन् । उनीहरूबाट करिब ६४ करोड ८२ लाख २५ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । विद्युत् महसुल नतिर्ने गत असार मसान्तसम्मको उद्योग कलकारखाना र घरायसी उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेर असुली अगाडि बढाउने तयारी थालेको छ । महसुल नतिर्ने करिब २०४५ देखिका ग्राहक छन् । कालोसूचीमा परेका ग्राहकबाट अभियानकै रूपमा बक्यौता उठाउन सुरु गर्छौं, प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने, पैसा तिर्न आनाकानी गरे सरकारी बक्यौतासरह उठाउँछौं । प्राधिकरणले पहिलो पटक देशभरबाट विद्युत् महसुल नतिर्ने ग्राहकको विवरण संकलन गरेको हो । यसअघि प्राधिकरणले यस्तो सूची नबनाउँदा महसुल नतिर्ने ग्राहकले उन्मुक्तिी पाएका थिए । कालोसूचीमा देशभरबाट ३३ हजार ६ सय २० ग्राहक परेका छन्, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहायक निर्देशक सूर्यप्रसाद शिवाकोटीले भने । प्राधिकरण स्रोतका अनुसार कालोसूचीमा पर्नेमा प्रतिष्ठित उद्योगीसमेत छन् । प्राधिकरणले यस्तो सूचीमा परेका ग्राहकबाट बक्यौता उठाउन पहिलो चरणमा सम्बन्धित क्षेत्रीय कार्यालयबाट जानकारी गराई बक्यौता तिर्न ताकेता गर्नेछ । बक्यौता नतिरे प्राधिकरणले त्यस्ता ग्राहकले अन्य स्थानमा प्रयोग गरिरहेको विद्युत् लाइनसमेत काटिनेछ । त्यति गर्दा पनि पैसा नतिरे प्राधिकरणले त्यस्ता ग्राहकको नजिकको हकवालाको विद्युत् लाइन पनि काट्ने योजना बनाएको छ । त्यसपछि बक्यौता नतिर्ने ग्राहकको नाम प्राधिकरणले विभिन्न केबल अपरेटरबाट प्रसारण गर्ने, पत्रपत्रिकामा बक्यौता नतिर्नेको तीनपुस्ते प्रकाशन गर्ने र अन्तिममा सरकारी बक्यौतासरह असुलउपर गर्ने योजना पनि छ । प्राधिकरण विनियमावलीले ग्राहकबाट उठ्न बाँकी रकम सरकारी बक्यौतासरह असुलउपर गर्ने अधिकार दिएको छ । सरकारी बक्यौतासरह असुलउपर गर्न प्राधिकरणले अन्य सम्बन्धित सरकारी निकायसँग सहकार्य गरी बक्यौता नतिर्ने ग्राहकलाई राज्यले उपलब्ध गराउने सेवा सुविधाबाट समेत वञ्चित गराउन सक्नेछ । त्यसमा मालपोत कार्यालयले जग्गा रजिस्ट्रेसन, नामसारी आदि नगर्ने, निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित गर्ने, प्रहरी रिपोर्ट उपलब्ध नगराउने, नागरिकता र राहदानी रोक्का गर्नेलगायत काम पर्नेछन् । प्राधिकरणले आइतबार गत असार मसान्तसम्म कालोसूचीमा पर्नेको अन्तिम नामावली प्रकाशन गरेको हो । त्यसअनुसार काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गत सबैभन्दा बढी ग्राहक छन् । यसअन्तर्गत ९ हजार ३ सय ५१ ग्राहक छन् । त्यसपछि क्रमशः हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत ६ हजार ३ सय ८९, बुटवल क्षेत्रिय कार्यालयअन्तर्गत ४ हजार ५ सय १७, विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गत ४ हजार २ सय ९७, जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत ३ हजार ९ सय ९१, नेपालगन्ज क्षेत्रीय कार्यालयअन्तर्गत २ हजार ५ सय ४४ र पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत १ हजार ४ सय ८६ ग्राहक कालोसूचीमा परेका छन् । अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत सबैभन्दा कम १ हजार ८५ ग्राहक कालोसूचीमा छन्।
0 comments
Post Your Comments :