आठ मन्त्रालय घटाउन सुझाब

काठमाडौं, चैत २१– उच्चस्तरीय प्रशासन सुधार सुझाब समितिले आठ मन्त्रालय कटौती गर्न सरकारलाई सुझाब दिएको छ । अहिले २६ वटा मन्त्रालय छन् ।
प्रशासकीय अदालतका अध्यक्षसमेत रहेका काशीराज दाहालको संयोजकत्वमा गठित प्रशासन सुधार सुझाब समितिले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा हाल कायम २६ मन्त्रालयलाई १८ मा झार्न र मुलुक संघात्मक संरचनामा गएपछि केन्द्रीय तहमा बढीमा १२ मन्त्रालय हुनुपर्ने सुझाब छ ।
६ सय ५२ पेज लामो प्रतिवेदनमा प्रशासनिक संरचना चुस्त बनाउन मन्त्रालय घटाउनुपर्ने उल्लेख छ । धेरै मन्त्रालय रहँदा सरकारको संरचनामा असन्तुलित कार्य विभाजन र कामको दोहोरोपना बढ्ने तथा सामञ्जस्यतामा बेमेल रहेकाले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने समितिको निष्कर्ष छ ।
समितिले प्रधानमन्त्री कार्यालयलाई अनुगमन, सुपरीवेक्षण, निरीक्षण, नियन्त्रण र समन्वयकारी भूमिकामा केन्द्रित गर्न सुझाब दिएको छ । मन्त्रालयले नै गर्ने खालका जिम्मेवारी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तोकेर बोझिलो बनाएको समितिको निष्कर्ष छ ।
विगतमा सरकारमा राजनीतिक दलले गठबन्धनका दललाई भाग पुर्‍याउन टुक्राउँदा मन्त्रालयको संख्या बढेको थियो । ०५१ सम्म १९ वटा मात्रै मन्त्रालय थिए । ०५३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मन्त्रालयको संख्या बढाइएको थियो । त्यसपछिका प्रायः सरकारले मन्त्रालयको संख्या बढाउँदै लगेका थिए भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

0 comments

Post Your Comments :