म जनतासामु पूरा नहुने कुरा गरेर झुठको राजनीति गर्दिन : प्रधानमन्त्री

|
बाँके, १६ चैत । प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकता मुलुकको आर्थिक विकासको आधार बन्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामीमा सकारात्मक सोचको विकास हुनुपर्छ, नकारात्मक चिन्तनले लक्ष्यमा पुग्न सकिँदैन ।”
“म जनतासामु पूरा नहुने कुरा गरेर झुठको राजनीति गर्दिन, जे गर्न सक्छु पूर्ण इमान्दारितापूर्वक गर्छु, जनताको भावनासँग खेलबाड गर्ने अधिकार कसैसँग पनि छैन,” उहाँको भनाइ थियो । निर्वाचनमा जनतासमक्ष गरिएका विकास निर्माणका बाँचा पूरा गर्न आफू दृढ सङ्कल्पका साथ लागिपर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले जनतालाई अल्मल्याउने, क्षणिक फाइदा पुग्ने ‘गफ’ होइन उनीहरुको जीवनस्तर सधैँका लागि सुखद बनाउने विकासको कार्यक्रम र कार्ययोजना सरकारबाट लागू हुन्छ भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले अब संविधान बन्दैन भनेर नकारात्मक प्रचार, चर्चा, परिचर्चा गरेर जनतालाई भ्रममा नपार्न आग्रह गर्दै अब सबै राजनीतिक दल परिपक्क भइसकेकाले सहमति निर्माण हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले रिक्त रहेका संवैधानिक अङ्गका पदाधिकारी, सदस्य र संविधानसभामा २६ जना सदस्य सरकारले एक साताभित्र मनोनित गरिसक्ने जानकारी दिनुभयो । स्थानीय निकाय निर्वाचनका लागि राजनीतिक दलबीच छलफल भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले सो निर्वाचनका लागि आवश्यक कानुन सरकारले निर्माण गर्छ भन्नुभयो ।
यसैबीच, प्रधानमन्त्री कोइरालासँग बाँके जिल्लाका नेपाली काँग्रेसका विभिन्न भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था, कानुन व्यवसायीलगायतका समूहले भेट गरी जिल्लाका वस्तुस्थिति र समस्या बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले यहाँको प्रसिद्ध बागेश्वरी मन्दिरमा विहान पूजाअर्चना पनि गर्नुभएको थियो ।

|
0 comments
Post Your Comments :