मलेसियाली गृहमन्त्री राजधानीमा

काठमाडौँ,  चैत १९ – नेपालसँगको श्रम सम्बन्ध अझ सुदृढ बनाउँदै अधिकभन्दा अधिक नेपाली कामदारलाई मलेसियामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा उच्च सरकारी अधिकारीहरूसँग वार्ता गर्न मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी मंगलबार राति नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका छन् । चौध सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका गृहमन्त्री हमिदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग सङ्क्षिप्त कुरा गर्दै धेरैभन्दा धेरै नेपाली श्रमिक आफ्नो मुलुक लैजानेसम्बन्धी विस्तृत छलफल गर्न आफू नेपाल भ्रमणमा आएको बताए । सुरक्षाकर्मी औद्योगिक कामदार तथा कृषि क्षेत्रका श्रमिकका रुपमा नेपालीलाई अझ धेरै अवसर दिने आफ्नो मुलुकको चाहना रहेको उल्लेख गर्दै उनले नेपालीको कार्यशैलीबाट आफूहरू सन्तुष्ट रहेको बताए । नेपाली श्रमिकहरूलाई कार्यक्षेत्रमा प्रवेश गर्नुअघि आधारभूत तालिम दिने व्यवस्था पनि आफ्नो मुलुकले गर्ने जानकारी दिँदै मन्त्री हमिदीले त्यस निम्ति मलेसियाली उद्योगपति एवम् औद्योगिक प्रतिष्ठानहरू तयार रहेका बताए । नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूका सेवा सुविधाका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्नु गृहमन्त्री हमिदीको भ्रमणको उद्देश्य रहेको मलेसियाका लागि नेपाली राजदुत डा निरञ्जनमानसिंह बस्न्यातले बताउनुभयो । गृहमन्त्री हमिदीले श्रम मामिला पनि हेर्नुहुने भएकाले उनको यो भ्रमणले थप नेपाली कामदारलाई रोजगारीका अवसर मिल्नेमा आफू आशावादी रहेको बताए । मलेसियामा नेपाली श्रमिकको अधिक माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै भने–‘शान्तिप्रिय एवम् अनुशासित नेपाली कामदारप्रति मलेसियाली रोजगारदाता कम्पनीहरू आकर्षित छन् ।’ भ्रमणका क्रममा गृहमन्त्री हमिदीले आज प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । आप्रवासी श्रमिकसम्बन्धी मामिला मलेसियाली गृहमन्त्रीको कार्यक्षेत्र भएकाले नेपालका सम्बद्ध वरिष्ठ अधिकारीहरूसँग हुने वार्ता फलदायी हुने विश्वास व्यक्त गर्दै राजदूत बस्न्यातले श्रम राज्यमन्त्रीसँगको छलफल नेपाली कामदारका समस्या, तिनको समाधान एवम् सहज व्यवस्थापनमा केन्द्रित हुने बताए । मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै पाँच लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको पनि राजदूत बस्न्यातले बताए । उनका अनुसार सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवम् आर्थिक विकासका गतिविधि सहजरुपमा सञ्चालन गर्न ठूलो सङ्ख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् ।

0 comments

Post Your Comments :