काठमाडौंको विस्तारित सडकमा बगैंचा

काठमाडौ, चैत्र १५ - काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा विस्तारित मूख्य र सहायक सडकमा बगैंचा बनाउने तयारी गरेको छ । कार्यकारी अधिकृत लक्ष्मण अर्यालले यस्ता सडक क्षेत्रलाई हराभरा बनाउन डिजाइनको काम भइरहेको बताए । पहिलो चरणमा न्यूरोड क्षेत्रलाई सून्दर बनाउने योजना छ ।

स्थानीय स्वायत्त शासन नियमावलीअनूसार सहरलाई हराभरा राख्नुपर्ने दायित्व नगरपालिकाको हो । सोही दायित्व पुरा गर्न लागिएको अर्यालको भनाइ छ । नागपोखरीदेखि बालुवाटार क्षेत्रमा बगैंचा निर्माण गर्न डिजाइन बनाउने काम भइरहेको छ । लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, बालुवाटारस्थित रुसी दुतावास अघि, राष्ट्रपति भवनदेखि चक्रपथसम्मको क्षेत्रमा पनि सडकको बीच भागमा बगैंचा बनाउने योजना छ ।

'यो काम निकै महँगो छ, चरणबद्ध रूपमा निर्माण गर्छौं,' अर्यालले भने । सडक विस्तार क्रममा किनाराका रूखहरू काटिएको थियो । 'स्वच्छ, सफा, हराभरा काठमाडौं' भन्ने नारालाई कायम राख्न पूनः वृक्षरोपण गर्ने योजना छ । करिब साढे २ किमि लम्बाइको तीनकूने-माइतीघर सडक दायाँ-बायाँ बगैंचा बनाउने तयारी भइरहेको अर्यालले जानकारी दिए । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यस सडक खण्डको कालोपत्रे सक्नासाथ हराभरा बनाउने योजना सूरु गरिने उनले बताए । पूराना सडकको फूटपाथमा समेत बगैंचा बनाउने योजना छ । 'बगैंचा निर्माणको अध्ययनका लागि वातावरण विभागलाई जिम्मा दिइएको छ,' उनले भने । महानगर वातावरण महाशाखा प्रमूख रविनमान श्रेष्ठले सार्वजनिक निजी साझेदारीअन्तर्गत बगैंचा बनाउने जिम्मा विभिन्न संघसंस्थालाई दिइने बताए ।

त्रिपूरेश्वर, दरबारमार्ग, न्यू प्लाजा, तीनकूनेलगायत 'ट्राफिक आइल्यान्ड' मा पनि नयाँ ढंगको बगैंचा बनाउने योजना छ । 'माइतीघरदेखि तीनकूनेसम्म विभिन्न कर्पोरेट हाउस छन्, तिनीहरूले अलिअलि जिम्मा लिए महानगरलाई भार पर्दैन,' उनले भने । उनका अनुसार त्यसका लागि कर्पोरेट हाउसहरूसँग पहिलो चरणको छलफल सुरु भइसकेको छ । आयोजना प्रमुख श्याम खरेलका अनुसार माइतीघर-तीनकुने सडकमा बगैंचा बनाउन भौतिक संरचना निर्माण भइरहेको छ ।

0 comments

Post Your Comments :