ढल मात्रै बग्ने बागमतीको पानी नुहाउनयोग्य भयो

काठमाडौँ,१५ चैत- ढल मात्रै बग्ने बागमतीको पानी नुहाउनयोग्य भएको छ। बागमतीको माथिल्लो खण्डमा धमिलो पानी तथा जीवाणुको मात्रा घटेको छ भने अक्सिजन बढेको छ। ४६ सातासम्मको लगातार सरसफाइ अभियानपछि गुह्येश्वरी र पशुपति आर्यघाटको पानी नुहाउनयोग्य भएको हो। सिनामंगल तथा मीनभवनसम्म पानीको गुणस्तरमा सुधार भइरहेको छ। एकीकृत बागमती सभ्यता आयोजनाले शुक्रबार गरेको बागमतीको पानी परीक्षणमा गुह्येश्वरी तथा आर्यघाट क्षेत्रमा जलचर बाँच्न सक्ने पानी बग्न थालेको प्रतिवेदन छ। मीनभवन र सिनामंगलमा पनि अघिल्ला महिनाभन्दा पानीको गुणस्तर राम्रो रहेको खबर अन्नपूर्ण पोष्टमा पिताम्बर सिग्देलले लेखेका छन् । पछिल्लो परीक्षणअनुसार गुह्येश्वरी र आर्यघाटमा पानीको धमिलोपना २२ र २४ एनटीयु छ। नुहाउनका लागि २० देखि ५० एनटीयु उपयुक्त हुन्छ। पानीमा धुलोका कण, फोहोर तथा कुहिएका फोहोर र बोटबिरुवाले धमिलोपना बढाउँछ। आयोजनाका उपआयोजना प्रमुख रमेश केसीले केही साताभित्रै सिनामंगलसम्मको बागमतीमा सङ्लो पानी बग्ने बताए। यसअघि मृत नदीका रूपमा रहेको बागमतीमा जलचरका लागि चाहिने पानीमा घुलेको अक्सिजन बढिरहेको छ। नदीमा (डीओ) पाँचदेखि ७ मिलिग्राम प्रतिलिटर भए उत्तम मानिन्छ। पशुपति आर्यघाट र गुह्येश्वरीमा यो मात्रा ६.८५ र ५.३७ छ। बागमती सफाइ अभियन्ताले वैशाख १ गते गुह्येश्वरीमा नुहाउने तयारी गरिरहेका छन्। हिउँदयामसँगै पानीको सतहसमेत घट्ने भएकोले डुबुल्की मार्ने पोखरी बनाउन लागिएको उपआयोजना प्रमुख केसीले बताए। मुख्य सचिव लीलामणि पौडेलले बागमतीमा नुहाउने योजना गत वर्ष सुनाएका थिए। तिलगंगा र सिनामंगल पुलको बीचमा नुहाउन छलफल भए पनि करिब दुईसय मिटर ढल ओछ्याइनसकेका कारण गुह्येश्वरीमै नुहाउने तयारी भइरहेको हो। बागमती सफाइ अभियानमा सहभागीले भने चैत २६ गतेदेखि गुह्येश्वरीमा नुहाउने तयारी गरिरहेका छन्।

0 comments

Post Your Comments :