कर्मचारी सेकुवा खान जाँदा अध्यागमन खाली

काठमाडौँ,१५ चैत- त्रिभुवन विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट बाहिर सेकुवा पसलमा सेकुवा ‘अर्डर’ मात्रै गरिएको थियो, १० मिनेटमै जहाज अवतरण हुन पुग्यो । अध्यागमनका कर्मचारी बाहिर चक्रपथबाट आगमनकक्षमा पुग्नै भ्याएनन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जानुपर्ने भएपछि अधिकांश कर्मचारी छलफलमा जुटेकै बखत अध्यागमन खाली हुन पुगेको थियो । त्यसले गर्दा विदेशबाट आएका यात्रुको भिसामा अध्यागमनको छाप लाउन छुटेको थियो भने चेकजाँचविनै सबै विदेशी नेपाल भित्रिएका थिए । ‘अख्तियारले अध्यागमन कार्यालयका कर्मचारीलाई पुर्जी काटेको र बयान दिन जानुपर्ने भएपछि त्यसको तयारीमा केही कर्मचारी लागे, केही भने सेकुवा सेटसहितको खाजा खान गोल्डेन गेटबाहिर निस्किए । त्यहीबेला स्पाइस जेटको विमान विमानस्थलमा ल्यान्ड गर्दा उनीहरु त्यहाँ पुग्न भ्याएनन्’, एक कर्मचारीले भने । अन्र्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग र भन्सार कार्यालयमा कार्यरत कर्मचारीबाट भएको गम्भीर लापरबाहीको सम्बन्धमा छानविन समितिले शुक्रबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको छ । तर, सो प्रतिवेदनमा कर्मचारी डेस्क नै खाली गरेर छलफलमा बसेको र सेकुवा खान गएको विवरण कहीँ पनि उल्लेख नभएको खबर राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

0 comments

Post Your Comments :