National
»
बाध्यताको जिम्मेवारी पीडादायकः हिमाल शर्मा
बाध्यताको जिम्मेवारी पीडादायकः हिमाल शर्मा
काठमाडौं, चैत्र २८ – अध्यक्षका दुई प्रत्यासीलाई सहमतिमा ल्याउन नसकेपछि एमाओवादी निकट अखिल क्रान्तिकारीमा पुरानै समितिलाई निरन्तरता दिइएको छ । अध्यक्ष हिमाल शर्माकै नेतृत्वमा सम्मेलन आयोजक समिति बनाएर तीन महिनाभित्र संगठनात्मक सम्मेलन गर्ने निर्णय भएको छ । संगठनका उपाध्यक्ष रमेश मल्लले भने, ‘नयाँ नेतृत्व बनाउन नसकिएपछि पुरानैलाई पुनर्स्थापित गरिएको छ । असारसम्ममा सम्मेलन गर्ने निर्णय भएको छ ।’ संगठनका निवर्तमान उपाध्यक्षद्वय मल्ल र जागृत रायमाझी दुवैले अध्यक्षको दाबेदारी नछाडेपछि सहमतिका नाममा पार्टीअध्यक्ष प्रचण्डसँग बसेको संगठन पदाधिकारीले शर्मालाई नै अध्यक्ष बनाउने निर्णय गरेको हो । शर्माले अध्यक्षमा पुनः आफूलाई निरन्तरता दिइएपछि ‘बाध्यताको जिम्मेवारी’ भएको प्रतिक्रिया दिएका छन् । फेसबुकमा उनले लेखका छन् ‘बाध्यताको जिम्मेवारी, दुखका साथ सम्हाल्नुको पीडा भोग्नेलाई थाहा हुन्छ ।’ यसअघि सभासद्को उम्मेदवार भएका र तीनवटा छोराछोरीको बाबु शर्माले नेतृत्व छाड्नुपर्ने दबाब संगठनमा उठ्दै आएको थियो । चैत २१ गतेदेखि राजधानीमा सुरु भएको सम्मेलनले बुधबार नेतृत्व चयनका लागि चुनाउ गर्ने कार्यक्रम थियो । चुनाउ गर्ने भनिए पनि आयोजक समितिका सदस्यबीच नै विवाद भएपछि सम्मेलन स्थगित गरेर संगठनका पदाधिकारी पार्टीअध्यक्ष प्रचण्ड निवास पुगेका थिए ।
0 comments
Post Your Comments :