फेसबुकलाई लिएर एमाओवादीभित्र गुटको जुहारी

काठमाडौं,चैत२१– एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले फेसबुकमा लेख्ने गरेको स्ट्याटस फेसबुक प्रेमीहरुको लागि प्रतिक्षाको विषय बन्ने गरेको छ । हुन पनि भट्टराईले पार्टीभित्रका आन्तरिक कुराहरुदेखि लिएर आमसरोकार र व्यक्तिगत विषयहरु फेसबुकमार्फत नै सार्वजनिक गर्ने गरेका छन् । तर भट्टराईको यही फेसबुकमार्फत पार्टीकाबारेमा सार्वजनिक हुने गरेका धारणाहरुको भने पार्टीभित्र कडा आलोचना हुने गरेको छ–बन्द कोठामा बसेर मन्थन गर्नु पर्ने कुरा सार्वजनिक रुपमा उठाएको भन्दै । फेसबुकमा प्रायः छाउने गरेका बाबुरामको यही फेसबुक स्ट्याटसलाई लिएर अनौपचारिक रुपमा आलोचना हुने गरे पनि पार्टीका नेताहरुले सार्वजनिक रुपमा आलोचना गर्ने हिम्मत भने उतिसारो गर्न सकेका थिएनन् । तर आज एमाओवादी समर्थित विद्यार्थी संगठनको उद्घाट्न समारोहमा भने यो विषयलाई लिएर चर्को आलोचना मात्र भएन,बाबुराम पक्षधर र प्रचण्ड पक्षधर नेताबीच जुहारी नै चल्यो । एकले गरेको आलोचनालाई अर्कोले बचाउ गर्न पुगेपछि यसले त्यहाँको माहोल तातेको मात्र थिएन,स्थितीले रोचक मोड समेत लिएको थियो । यसरी बाबुरामको फेसबुक स्ट्याटसलाई लिएर जुहारी गर्न तम्सने नेता अरु कोही नभएर एमाओवादी संस्थापन पक्षनिकट मानिने मजदुर नेता गणेश रेग्मी र बाबुरामनिकट नेता तथा एमाओवादी बुद्धिजीवि संगठनका अध्यक्ष खिमलाल देबकोटा थिए । विद्यार्थी अधिबेशनको उद्घाटनको अबसरमा शुभकामना सन्देशका लागि मञ्च पाएका यि दुवै नेताले ‘मौकामा चौका’ हान्दै एकले बाबुरामको हर्कतको खुलेर आलोचना गरे भने अर्कोले त्यसको बचाउ गरे । अझै रोचक त के थियो भने आफु पक्षिय नेताबीचको जुहारी एकै ठाउँमा बसेका प्रचण्ड र बाबुराम ध्यानपुर्वक सुनिरहेका थिए । शुभकामनाका लागि पहिले मञ्च पाएका गणेश रेग्मीले पार्टी संक्रमणमा रहेको बेला एजेन्डाहरुमाथि गम्भिर छलफल हुनु पर्ने आवश्यकता औल्याउँदै बाबुरामले आन्तरिक कुरा सार्वजनिक गरेको भन्दै कडा आलोचना गरेका थिए ।‘पार्टी यो अबस्थामा पुगिरहेको बेला हाम्रा नेता भने गहन छलफल र संबादमा जुट्नुको साटो फेसबुक र ट्विटरको वालमा रमाइरहेका छन्’ बाबुरामप्रति कटाक्ष गर्दै नेता रेग्मीले अगाडि भने,‘फेसबुक र ट्विटरका भित्तामा आफ्नो आफ्नो कुरा छताछुल्ल पारेर हामीलाई गुमराहमा नराख्नुस् । ’ उनले बाबुरामको नयाँ शक्ति निर्माणबारे पनि कडा आलोचना गर्दै आफ्नै कार्यकर्ता एउटै चिया पसलमा बसेर चिया खान नसक्ने स्थिती कसरी सृजना भयो भन्दै प्रतिप्रश्न गरेका थिए । रेग्मी लगत्तै बुद्धिजीवी संगठनको प्रतिनीधिको रुपमा शुभकामना मन्तव्य दिन मञ्च पाएका खिमलाल देबकोटाले रेग्मीको भनाइको खन्डन मात्र गरेनन्,बहस गर्ने परिपाटीलाई कम आँकलन गरेको भन्दै कडा आलोचना गरे । उनले बाबुरामको बहस गर्ने यो शैलीलाई बढ्दो विज्ञान प्रविधीको दुनियाँमा हुने स्वभाविक प्रक्रिया भएको तर्क गरे । ‘यस्तो बहसहरु आउन जरुरी छ’ उनले बाबुरामको पद्चापको पछ्याउन विद्यार्थीहरुलाई अपिल गर्दै भने‘तपाई विद्यार्थी साथीहरु पनि यस्तो बहसको अभ्यास गर्न नहिच्किचाउनु । यस्ता बहसले हामीलाई निपुर्ण बनाउँछ,परि आए बाग्मतीका फोहोर उठाउन पनि हामी तयार रहनु पर्छ ।’उनले फेसबुक र ट्विटरलाई पछ्याउँन विद्यार्थीहरुलाई सुझाब दिँदै फेसबुक र ट्विटरमा छाउन विद्यार्थीहरुलाई सझाव समेत दिए ।

0 comments

Post Your Comments :