संविधान ८ माघमा !

काठमाडौं, चैत २१ – संविधानसभा सचिवालयले आगामी ८ माघ ०७१ सम्म संविधान जारी गर्नेगरी संविधानलेखनको कार्यतालिका तयार पारेको छ । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार शुक्रबारको संविधानसभा बैठकमा कार्यतालिका पेस हुँदै छ ।
छोटो समयमा महत्त्वपूर्ण काम सक्नेगरी महत्त्वाकांक्षी कार्यतालिका तय भएको छ । संविधानसभाको पहिलो बैठक बसेको साढे दुई महिनापछि सचिवालयले कार्यतालिका तय गरेको हो । कार्यतालिकाअनुसार कात्तिक मसान्तभित्र संविधानको पहिलो मस्यौदा बन्नेछ । कार्यतालिकाअनुसार काम भए मंसिर पहिलो सातामै जनताले संविधानको मस्यौदा हातमा पाउनेछन् ।
संविधानसभा कार्यसञ्चालन नियमावलीको नियम १५१ अनुसार सचिवालयले संविधानलेखनको कार्यतालिका बनाएको हो । विघटित संविधानसभामा सचिवालयले तयार पारेको कार्यतालिका दर्जनभन्दा बढी संशोधन भएको थियो । तोकिएअनुसार काम नभएपछि कार्यतालिका पटक–पटक संशोधन भएको थियो । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा सभाध्यक्षले कार्यतालिका हेरफेर गर्न सक्छन् भनेर आजको नयाँ पत्रिकामा यो समचार छापिएको छ ।

0 comments

Post Your Comments :