National
»
एमाओवादी सम्मेलनको तयारी सुस्त
एमाओवादी सम्मेलनको तयारी सुस्त
काठमाडौं, चैत्र २९ – एमाओवादी राष्ट्रिय सम्मेलनको तयारी सुस्त देखिएको छ । चैत दोस्रो साता सदस्य नवीकरण गरी केन्द्रीय कार्यालय पठाउनुपर्ने निर्देशन भए पनि अझै पूरा भएको छैन । वैशाख पहिलो साताभित्र गाउँ सम्मेलन गरिसक्ने कार्यतालिका बनेको छ । सदस्यता नवीकरणको काम नसकिएकाले अधिकांश गाउँमा सम्मेलन हुन सकेको छैन । हालसम्म कुनै जिल्लाले पनि सदस्यता नवीकरण केन्द्रीय कार्यालयमा पठाउन सकेका छैनन् । ‘सदस्यता नवीकरण गर्ने काम जारी छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले भने, ‘केही जिल्लाले पठाउन सुरु गरेका छन् ।’ गाउँ सम्मेलनपछि वैशाख १५ सम्म जिल्ला सम्मेलन गरी महाधिवेशन प्रतिनिधि चयन गर्ने तय भएको छ । प्रवक्ता दीनानाथ शर्माले सम्मेलनको तयारी सुस्त गतिमा भए पनि नसर्ने बताए । ‘राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुन्छ’ उनले भने, ‘सबै जिल्लाको सम्मेलन हुन नसके पनि राष्ट्रिय सम्मेलन हुनेछ ।’ एमाओवादीले जेठ १८ गतेदेखि सुरु हुने गरी राष्ट्रिय सम्मेलनको मिति तोकेको छ । बारा, पर्सा, रौतहटमा सदस्यता नवीकरणमै विवाद देखिएको छ । विवादका कारण ती जिल्लामा सम्मेलन तोकिएकै समयमै हुन कठिन भएको एक नेताले बताए । ६० भन्दा बढी जिल्लामा सम्मेलन भएमा जसरी पनि राष्ट्रिय सम्मेलन गर्ने एमाओवादीको तयारी छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधि चयन हुने भएकाले नेताहरू जिल्ला दौडाहामा लागेका छन् ।
0 comments
Post Your Comments :