आफन्तबाटै २२ महिलाको हत्या
नेपालगन्ज, चैत्र २६– १७ वर्षीय सिर्जना फडेराको उनकै २२ वर्षीय लोग्ने भरतले हत्या गरे । प्रहरी अभिलेख अनुसार बाँके रझेना ७ की सिर्जनालाई २०६९ माघ २९ गते काठमाडौं जाने भन्दै घरबाट नजिकै कोहलपुरको एउटा होटलमा लगेर हत्या गरिएको हो । ‘हत्याकै दिन पक्राऊ गरियो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘७ महिनापछि जिल्ला अदालतले फडेरालाई सर्वस्वसहित जन्म कैदको फैसला गर्यो । अहिले उनी जेलमा छन ।’ अघिल्लो दिन माघ २६ गते घरेलु हिंसाका कारण कारकाँदो २ भुजई गाँउकी ४० वर्षीया कमरून निशा गम्भीर घाइते भइन । भोलिपल्ट उपचारका क्रममा कमरूनको भेरी अञ्चल अस्पतालमा मृत्यु भयो । २०७० साउन २ गते कालिका ७ स्याउलीबजारकी ४६ वर्षीया नारायणी रानाभाट आफ्नै घर पछाडी मृत अवस्थामा फेला परिन् । घरदेखि झण्डै ४० मिटरको दुरीमा फेला परेकी नारायणीको पोते चुडिएको थियो भने काँटा भाँचिएको र चुरा फुटेको अवस्थामा शव फेला परेको थियो । शरीरमा कुटपिटका निलडाम र टाउकोमा गहिरो चोट देखिन्थो । घरेलु हिंसाको सिकार बनेकी नारायणीको हत्याको आरोपमा पति कृष्णबहादुर सोही दिन पक्राऊ परे । पुर्पक्षको लागि जेलमा छन उनी । तराइका यी जिल्लासँगै पहाडी जिल्ला दैलेखस्थित तोलीजैसी ४ की २५ र्विषया नामसरा कामीलाई आफूसँग विवाद गरेको भन्दै २८ वर्षीय पति शिरेले २०६९ माघ ६ गते राति घाँटी रेटेर हत्या गरेको प्रहरीको दावी छ । ‘मदिरा सेवन गरी हसियाले रेटेर हत्या गरेको पाइएको छ’ पक्राउ गर्ने तिलेपाटा प्रहरी चौकीका एक प्रहरीले भने । इन्सेकले बिभिन्न हिंसासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मध्यपश्चिममा एक बर्षमा ३ सय ५५ महिला हिंसाका घटना भएको जनाएको छ । २२ जना महिलाको घर परिवारका सदस्यबाट हत्या भएको छ, इन्सेक संयोजक शिव खकुरेलले भने । बढ्दो महिला हिंसाका घटनाका लागि खकुरेलले सरकारी निकाय जिम्मेवार हुनुपर्ने तर्क गर्दै प्रतिवेदनमा भनिएको छ, महिला विरूद्धहुने हिंसाका घटनाहरूलाई गम्भीर प्रकारको अपराधका रूपमा स्वीकार गरिए पनि फितलो कानुनी व्यवस्थाले गर्दा हिसा र नियन्त्रण हुन सकेको छैन । लोग्नेले जलाइ दिएपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ आएकी दैलेख नारायण नगरपालिकाकी ४० वर्षीया चावली सार्कीको उपचारबाट समेत घाउ निको नहुँदा मृत्यु भयो । २०६९ पुस १३ गते लोग्नेले जलाइदिएका कारण चावलीको दाहिने खुट्टाको तिघ्रा र गुप्ताङ्ग जलेको थियो । घाउ निको नभएपछि फर्काइएकी चावलीको घरमै मृत्यु भएको हो ।
0 comments
Post Your Comments :