विश्वबैकका उपाध्यक्षसँग के भने प्रधानमन्त्रीले?

काठमाडौँ,चैत१३–प्रधानमन्त्री सुशील कोइरालासँग विश्व बैंकका उपाध्यक्ष(दक्षिण एसिया) फिलिप ल हौरौले आज दिउँसो भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री कोइरालाले विश्व बैंकले नेपाललाई खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै भने, “हामीले तपाईंको सहयोगलाई विशेष महत्व दिएका छौँ ।” प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचन, नयाँ सरकारको गठन र यसका नीति तथा कार्यक्रमको चर्चा गर्दै भने, “हामी एक वर्षभित्र संविधान ल्याउन कटिबद्ध छौँ, म तपाईंलाई विश्वास दिलाउँछु, हामी ल्याउँछौँ, ल्याउँछौँ ।” उनले आफ्नो सरकारले भ्रष्टाचाररहित सुशासनलाई जोड दिने पनि बताए । प्रधानमन्त्री कोइरालाले पूर्वाधार र आर्थिक–सामाजिक विकासमा जनताको अधिक चासो रहेको र आफ्नो पार्टीले पनि झन्डै छ दशकसम्म देशको विकास जनताको सुखसमृद्धिका लागि लडेकाले विकासलाई तीव्र बनाउन आफू आतुर रहेको विचार राखे । “स्थानीय निकायका लागि छुट्याइएको रकम बालुवामा पानी जसरी खेर गएकाले छ महिनाभित्र सरकार स्थानीय निकायको चुनाव गर्न व्यग्र छ,” उनले भने । भेटमा प्रधानमन्त्री कोइरालाले जलविद्युत्, कृषि, पर्यटन र जडीबुटीखेती गरेर नेपाललाई १० वर्षमा समुन्नत बनाउन सकिने विश्वास व्यक्त गरेका थिए । “हामीले ६० वर्षभन्दा बढी राणा, पञ्चायत, राजतन्त्रसँग लड्नुप¥यो । हामीले गणतन्त्र र सङ्घीयतासहित ठूला प्रजातान्त्रिक उपलब्धि हासिल गरेका छौँ,” प्रधानमन्त्री कोइरालाले भने, “त्यसलाई संस्थागत गरे देशमा शान्ति र स्थायित्व कायम हुन्छ, यस्तो अनुकूल वातावरणमा हामी विकास गर्न सक्छौँ । म एकदम आशावादी छु ।” वार्तामा उपाध्यक्ष विश्व बैंकका उपाध्यक्ष हौरौले जनशक्ति पनि नेपालको ठूलो स्रोत भएकाले त्यसको सही विकासबाट नेपालले ठूलो लाभ पाउन सक्ने जनाउँदै प्रधानमन्त्री कोइरालाको नेतृत्वको सरकारसँग नेपालको विकासमा साझेदारी गर्न पाउँदा दशकसम्मका लागि आफू झन् आशावादी भएको बताए ।

0 comments

Post Your Comments :