सुशीलसँग को को रिसाए ?

काठमाडौं, चैत १६ – प्रधानमन्त्री बनेपछि कांग्रेस सभापति सुशील कोइरालाका दुस्ख झन् बढेका छन् । आफ्नै पार्टीभित्रका नेताहरूको चित्त बुझाउन उनलाई सकस परेको छ । प्रधानमन्त्री भएपछि असन्तुष्ट हुने उनी निकटकै नेताहरूको संख्या दिनदिनै बढ्दै छ ।
संविधानसभाबाट संविधान बनाउने अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेसीजन मात्र होइन, बाहिरकाले समेत कोइरालामा सुझबुझ खोजेका छन् । सधैँ त्याग र निष्ठापूर्ण राजनीति गर्दै कांग्रेस नेतृत्वमा आएको झन्डै चार वर्षमा प्रधानमन्त्री बनेका कोइरालाप्रति असन्तुष्ट हुनेहरू बढेपछि उनलाई काम गर्न अप्ठेरो पर्न थालेको छ ।
स्व। गिरिजाप्रसाद कोइरालाले आफ्नो राजनीतिक उत्तराद्र्धलाई परिपक्व मात्र बनाएनन्, आफ्नै पार्टी कांग्रेस र देशलाई समेत नेतृत्व दिए । उनै गिरिजाका अनुयायी सुशील कोइराला कांग्रेसको मात्र बागडोर सम्हालिरहेका छैनन्, देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीमा समेत विराजमान छन् । तर, एउटै पार्टीभित्र समानान्तर पार्टी चलाएका वरिष्ठ नेता शेरबहादुर देउवापक्षको असन्तुष्टि संस्थागत रूपमै अघि बढेको छ । तर, संस्थापनकै उपसभापति रामचन्द्र पौडेल, आफ्नै कोटरी र कोइराला खानदानकै नेतासमेत सुशीलसँग रिसाएका छन् ।
कोइरालाका विश्वासपात्र महामन्त्री कृष्णप्रसाद सिटौला असन्तुष्ट नभए पनि दूरीमै छन् । एमालेलाई गृह मन्त्रालय दिने सहमति गरेको भन्दै कोइराला नै उनीसँग रिसाएका थिए । तर, पछि गृह एमालेलाई नै दिन कोइराला तयार भएपछि सिटौलासँगको सम्बन्ध बिग्रिसकेको छैन ।
संसदीय दलको चुनावमा सहयोग गरेकाले कार्यबाहक सभापति आफूले पाउनुपर्ने पक्षमा उपसभापति रामचन्द्र पौडेल छन् । सहमतिअनुसार कार्यबाहक नदिएको भन्दै सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासँग पौडेल सबैभन्दा बढी रुष्ट छन् ।
असन्तुष्ट पौडेलको प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुग्ने क्रम पनि पातलिएको छ । पहिलेजस्तै पार्टी चलाउन कोइरालाले आग्रह गरे पनि लिखित रूपमै पार्टी चलाउने अनुमति दिन पौडेलले आग्रह गर्दै आएका छन् । अझै यस्तै कार्यशैली जारी रहे आकांक्षी भएर मन्त्री बन्न नपाएकालाई समेटेर छुट्टै गुट निर्माण गर्ने जनाउसमेत पौडेलले दिइसकेका छन् । ‘उहाँ जहिल्यै पार्टी भनेर लाग्नुभयो,’ उनीनिकट स्रोतले भन्यो, ‘सत्रपटक नहुने प्रधानमन्त्रीका लागि लडाइयो । प्रधानमन्त्री बन्ने वेलामा त्याग गर्न भनियो, तर पार्टीमा जिम्मेवारी दिइएन, त्यसैले उहाँ सभापतिप्रति सन्तुष्ट हुनुहुन्न ।’
दलको चुनावमा उम्मेदवारी दिने घोषणा गरे पनि पौडेलले कार्यबाहक पाउने सर्तमा कोइरालालाई समर्थन गरेको दाबी गर्दै आएका छन् । तर, संस्थापनपक्षले यो दाबीलाई स्वीकार गरेको छैन । तर, पार्टीमा देउवापक्षको बढ्दो प्रभावका कारण कोइरालाले पौडेललाई कार्यबाहक दिन सकेका छैनन् । आफ्नो सिफारिसमा परेका अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीलाई मन्त्री नबनाइएपछि पौडेल थप चिढिएका छन् ।
यसैगरी, आफूलाई सल्लाह र सुझाब दिँदै आएका प्रधानमन्त्री कोइरालाका कोटरीकै खास मान्छेहरू पनि उनीसँग सन्तुष्ट छैनन् । मन्त्री बन्ने आकांक्षा पालेका पार्टी संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, दिलबहादुर घर्तीलगायतका नेता कोइरालासँग रिसाएका हुन् । उनीहरू कोइरालाले दीपकुमार उपाध्याय, मीनेन्द्र रिजाललाई महत्त्व दिइएको भन्दै असन्तुष्ट रहेको कांग्रेस स्रोतको भनाइ छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

0 comments

Post Your Comments :