करोडपति किसान नेता

काठमाडौं/उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम करोडपति बनेका छन् । उनी न त अमिताभ बच्चनले चलाउने ‘कौन बनेगा करोडपति’मा सही प्रश्नको जवाफ दिएर करोडपति बनेका हुन् न त कुनै व्यापार व्यवसाय गरेर यतिका पैसा कमाएका हुन् । राजनीतिमा शक्रिय हुने क्रममै ‘सर्वहारा बर्गका नेता’ बामदेव करोडपति भएका रहेछन् । गौतमले हालै पेश गरेको सम्पत्ति विवरण अनुसार उनी र उनको परिवारका नाममा विभिन्न बैंकका करोड रुपैयाँ मौज्दात छ । गौतमले बालकुमारीस्थित ‘भेगास सिटी’मा दुई फ्ल्याट किन्न ५० लाख रुपैयाँ तिरीसकेका छन् । एमालेका झापा विद्रोहकालदेखिका धेरै नेता र कार्यकर्ता अझै पनि गाँस, बास र कपासको टुंगो नभएर भौंतारिरहेका छन् । कसै कसैले छोरा बेरोजगार भएको पिडा खप्न नसकी बल्खु दरबारमै आत्महत्या गरेका घटना पनि छन् । यस्तोमा सर्वहारा बर्गका नेतासँग फल्याट किन्न ५० लाख रुपैयाँ कहाँबाट आयो ? भन्ने प्रश्न एमाले बृत्तमा उब्जिएको छ । बामदेवले सम्पत्ती विवरणमा उल्लेख गरे अनुसार फल्याट किन्न खर्च गरेको रकम कुमारी बैंकबाट ऋण लिएर लगानी गरेको उल्लेख गरेका छन् । तर ऋण शीर्षकमा उनले त्यो खुलाएका छैनन् । बरु ऋण शीर्षकमा उनले नबिल बैंकबाट १ करोड ५० लाख रुपैयाँ ऋण लिएको र ५० लाख रुपैया तिर्न बाँकी रहेको लेखेका छन् । बामदेव गौतमसँग ३५ तोला सुन, १०० तोला चाँदी र एक सेट हिरा पनि रहेछ । भारतमा गएर मजदुरी गरेका, सामन्ती साहुको खेत जोतेका अनी दुःख पाएर कम्युनिष्ट आन्दोलनमा लागेका किसन नेता बामदेव गौतमसँग यतिका सुन कसरी आयो ? भन्ने प्रश्न पनि उव्जिएको छ । महाकाली सन्धीमा राष्ट्रघात भयो भनेर पार्टी फोर्नसमेत पछि नपरेका, हक्की स्वभावका अनि जननेता मदन भण्डारीका दाहीने हात नै मानिएका गौतम संसदीय कालखण्डमा कमाउनतिर लागेको एक पूराना एमाले कार्यकर्ता बताउँछन् । रातोपाटीलाई नाम नबताउने सर्तमा उनले भने, ‘उनी सुरुमा त क्रान्तिकारी नै हुन् । किसानका प्रिय नेता हुन् । एमालेको संगठन विभाग प्रमुख भएको बेला यिनीले पार्टीलाई जुझारु बनाएकै हुन्’, बर्दीयाका ती कार्यकर्ता भन्छन्, ‘गृहमन्त्री भएपछि यिनी पनि तस्करहरुको चंगुलमा परे । भ्रष्ट गिरोहले यिनलाई पनि बिटुल्यायो । राजनीति गर्न कमाउनुपर्छ कमरेड भन्नेहरुको लहलहैमा लागेर यिनी पनि धन थुपार्नतिर लागे । हैन भने उनी त बिगतमा त्याग र बलीदान गरेर जनताको माझबाटै आएका हुन् ।’ ति कार्यकर्ताले भने झैं गृहमन्त्री गौतम पहिलो पटक गृहमन्त्री भएका बेला तस्करहरुसँगको साँठगाँठका कारण चर्चित बनेका थिए । एमाले नेता ईश्वर पोखरेलले उनलाई पार्टी विभाजनताका ‘नेपालको नम्बर एक भ्रष्टाचारी’ को संज्ञा दिएका थिए । दीपक मल्होत्रा, अकबर शाह, बनवारीलाल मित्तर, सिताराम प्रशाईंलगायतका व्यक्तिले त्यसबेला सुन तस्करीको खुला छुट पाएका थिए । सुन नेपाल भित्रयाउने उनीहरुको तरीका गजबकै थियो । उनीहरु टर्च लाइटभित्र सुनका ब्याट्री बनाएर राखेर करोडौं रुपैयाँका सुन हङकङबाट नेपाल हुँदै भारतलगायतका मुलुकमा तस्करी गर्थे । त्यसरी टर्चभित्र ब्याट्रीको भेषमा लुकाएर ल्याइने सुनलाई बिना रोकटोक अन्र्तराष्ट्रिय विमानस्थलबाट छिराउन र खुलेयाम तस्करी गर्न गृहमन्त्री गौतमले नै छुट दिएको खबर त्यसबेला राष्ट्रिय दैनिकहरुमा प्रकाशीत भएका थिए । त्यसैबेला गौतम सुन काण्डमा पनि मुछीए । तस्करहरुको सुन छुटाउन आफ्नै गाडी लिएर उनी एयरपोर्ट पुगेका थिए । एयरपोर्ट निरिक्षण भन्दै जाने र तस्करहरुको सुन आफ्नै गाडीमा हालेर ल्याउनेसम्मका काममा उनको संलग्नता देखिएको खबर त्यसबेला प्रकाशित भएका थिए । खासगरी सुन तस्कर दिपक मलहोत्रासँगको बामदेवको हिमचिम पुरानै हो । शहीदको कोटामा छोरालाई चीनमा मेडिकल कोर्स पढन पठाएर बदनाम भएका गौतम सुन काण्डकै कारण बिगतका निर्वाचन हार्दै आएका थिए ।

0 comments

Post Your Comments :