छोरो खोज्दा आफैं बेचिएको खुलासा


सिन्धुपाल्चोक, चैत्र १६ – बेपत्ता छोरो खोजिदिन निवेदन बोकेर स्थानीय प्रहरी कार्यालय पुगेकी शिखरपुर–५ की ३२ वर्षीया ‘मेलम्ची झु छाँगाबाट खसेझैं भइन्, जब उनले एक वर्षअघि आफू पनि भारतमा बेचिएको थाहा पाइन् । छोरो हराएको घटनाक्रम सुनाउने क्रममा उनी आफैं बेचबिखनमा परेको खुलासा भएको हो ।
राजधानीमा जागिर लगाइदिने प्रलोभन देखाएर शिखरपुर–४ का विष्णुप्रसाद दाहालले आमाछोरालाई भारत पुर्‍याएको खुलेको हो । दाहाललाई मेलम्ची प्रहरीले पक्राउ गरेको छ ।
एक वर्ष भारतमा बिताएर विभिन्न सम्पर्क माध्यम हुँदै १० दिनअघि गाउँ आइपुगेकी मेलम्ची झ छोरो खोजिदिन आग्रह गर्दै बुधबार मेलम्ची प्रहरी कार्यालय पुगेकी थिइन् । उनको बयान सुनेपछि प्रहरीले छोरो हराएको निवेदन छोडेर बेचबिखन मुद्दामा किटानी जाहेरी दिन लगायो । छोरो हराउनुको कारण सोध्दै जाँदा उनी बेचिएको खुलेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताए ।
प्रहरीका अनुसार दाहालले राजधानीमा मारवाडीको घरमा महिनाको ८–१० हजार तलब आउने जागिर लगाइदिने प्रलोभनमा २०६९ माघ १६ गते गाउँबाट लगेका थिए । त्यस रात दाहालकै घरमा बिताएर उनले आमाछोरालाई जर्सिङ पौवाको चोरबाटो हिँडाउँदै काठमाडौं पुर्‍याए। भोलिपल्ट कलंकीबाट बस चढाएर सुनौली नाका हुँदै दिल्ली पुर्‍याए । पुगेको रात तामाङनी भनिनेको घरमा बिताएपछि भोलिपल्ट उनीहरुलाई अर्की ठूली तामाङ्नी भन्नेको घरमा राखियो । ‘छोरासँगै सुतिरहेका बेला महांकाल–सेराका गोपी लामिछाने उनलाई दुर्व्यवहार गरे,ु उनको भनाइ उद्धृत गर्दै डिएसपी बोहराले भने ।
१२ वर्षीय छोरो छाडेर भाग्दै सडकमा निस्केपछि उनलाई प्रहरीले भेट्टायो । प्रहरीले स्थानीय संस्थाको जिम्मा लगायो । ‘वर्ष दिन त्यहाँ बस्दा दिल्ली प्रहरीले पुनः पक्राउ गरेर माइती नेपालको जिम्मा लगाएको रहेछ,ु बोहराले भने । १० दिनअघि गाउँ फर्किएकी मेलम्ची झले उनी भारत पुगेको दुई दिनमै छुट्टिएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरीको अनुरोधमा उनले दाहाल र लामिछाने दुवैलाई विपक्षी बनाई किटानी जाहेरी दिइन् । जाहेरीपछि दाहाल घरैबाट पक्राउ परे । लामिछाने अहिले पनि भारतमा बस्दै आएको प्रहरीले जनाएको छ भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।
 

0 comments

Post Your Comments :