जातीय आधारमा सङ्घीयता हुन सक्दैन– प्रधानमन्त्री

कास्की,चैत२८–प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता निर्माणको आधार जातीयता हुन नसक्ने बताएका छन् ।उग्रजातिवादले विश्वका धेरै मुलुकमा सङ्कट निम्त्याएको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले जातीय आधारमा सङ्घीयता निर्माण नगर्ने आफ्नो निष्कर्ष रहेको स्पष्ट पारे । पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले आज यहाँ आयोजित विश्वविद्यालयको ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सङ्घीयतासहितको गणतन्त्रलाई संस्थागत गर्न र एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न आफू लागिपरेको बताए । मुलुकमा कानुनी राज र सुशासन स्थापना गर्न वर्तमान सरकार सक्षम रहेको दाबी गर्दै प्रधामनमन्त्री कोइरालाले दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्नसके ८÷१० वर्षमै मुलुकको विकासमा कायापलट ल्याउन सकिने विश्वास व्यक्त गरे । वर्तमान सरकार गठनसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताले मुलुकमा लगानी गर्न चासो देखाएको भन्दै उनले जनताको जीवनस्तर बढाउने कुरा गर्दा आफूले विरोधको सामना गर्नुपरेको बताए । विश्वविद्यालयको शैक्षिकस्तर वृद्धि, पूर्वाधारसहित नीतिगत सुधार गर्न सरकार सदैव तयार रहेको भन्दै प्रधानमन्त्री कोइरालाले उच्च शिक्षाको क्षेत्रमा गुणस्तर कायम गरी पोखरालाई विश्वको शैक्षिक केन्द्र बनाउन यस विश्वविद्यालयले सघाउने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले विज्ञान तथा प्रविधि सङ्कायतर्फ कम्प्युटर एप्लिकेसन विषयको स्नातक तहमा सबैभन्दा उच्च अङ्क ल्याएर विशिष्ठ श्रेणीप्राप्त गर्ने अविनास बाँस्तोलालाई स्वर्णपदक र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायतर्फ सबैभन्दा उच्च अङ्क ल्याउने अनिता रानाभाटलाई लक्ष्मी विद्यापदकले सम्मान गरेका थिए ।

0 comments

Post Your Comments :