अबको क्रान्ति आर्थिक विकासमा : भट्टराई
|
नवलपरासी, २८ चैत । एकीकृत नेकपा माओवादीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको नयाँ शक्ति भनेको आर्थिक विकासका लागि मोडेल हुने बताउनु भएको छ । नवलपरासीमा शुक्रबार चौधरी ग्रुपको अवलोकन पछि पत्रकारसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । एउटै औद्योगिक घरानाले त यत्ति धेरै गर्न सक्छ, राज्य नै लाग्यो भने कति धेरै हुन्छ उहाँले भन्नुभयो–“अबको क्रान्ति आर्थिक विकासकै हो ।”
आर्थिक र राजनीतिक क्रान्ति एक अर्काका पुरक भएको बताउँदै उहाँले अबको केही वर्ष आर्थिक क्रान्तिमा लगाउनुपर्ने धारणा राख्नुभयो । आलु चिप्स, बियरका लागि यही कच्चा पदार्थ उत्पादन गर्न राज्यले नीतिगत रुपमै सुनिश्चित गर्नुपर्छ डा भट्टाराईले भन्नुभयो –“कृषि उत्पादन बढाउन सरकारले अनुदान दिनै पर्छ त्यसका लागि नीति ल्याउनुपर्छ” ।
सरकारले निजी क्षेत्रलाई सहयोग गर्न आवश्यक छ, चौधरी उद्योगको विकासको मोडेल र उत्पादन मोडेललाई सरकारले बढवा दिन आवश्यक छ उहाँले भन्नुभयो । पत्रकारसँगको भेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आर्थिक पक्षको लाभ र हानीका आधारमा राजनीति हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिकसँग सम्बन्धित २८ वटा विधेयक संसद्मा थन्किएको छ भन्नुभयो । राजनीतिक पक्ष र आर्थिक पक्षबीच ‘रियल’ साझेदारी हुन नसक्नु नै अहिलेको जड हो उहाँले भन्नुभयो ।
चौधरी ग्रुपले उत्पादन गरेका वाइवाइ चाउचाउ, आलु, चिप्स, जुसलगायतका बस्तुको उत्पादनका बारेमा डा भटटराईले जानकारी लिनुभएको थियो ।
|
0 comments
Post Your Comments :