कुरुप बागमतीलाई सफा गर्न बाबुराम भट्टराईदेखि मन्त्रीहरुको लर्को
|
प्रत्येक हप्ताको शनिबार वाग्मती नदीको सफाइ गर्दै आएको वाग्मती सफाइ महाअभियानले आज ४७ औँ हप्ताको सफाइ कार्यक्रम जोरपाटीको वाग्मती पुलदेखि गोठाटारको वाग्मती पुलसम्म डेढ किलोमिटर सम्पन्न गरेको छ।
सो सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सहरी विकासमन्त्री डा नारायण खड्का, मुख्य सचिव लीलामणि पौडेल, सहरी विकास सचिव किशोर थापा र ओशो तपोवनका स्वामी आनन्द अरुणसहित नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, विभिन्न वित्तीय र बैंकका कर्मचारी गरी करिब पाँच हजारको सहभागिता रहेको थियो।
वाग्मती सफाइ गर्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले वाग्मती सभ्यताको स्रोत भएकाले यसलाई प्रदूषित र दुर्गन्धित बनाउनु सभ्यता र संस्कृतिकै दुर्गन्ध र फोहोर भएको धारणा राखेका थिए।
सहरी विकासमन्त्री डा खड्काले कुरुप बन्न लागेको वाग्मतीलाई बचाउनका लागि यस्ता महाअभियानले सहयोग पुर्याउने बताए ।
सो महाअभियानबाट १० ट्रक फोहोर उठाइ व्यवस्थापन गरिएको जोरपाटी क्षेत्रमा वाग्मती सफाइको अभियान चलाइरहनुभएका 'राम्रो जोरपार्टी हाम्रो जोरपाटी' अभियानका अध्यक्ष बटुककृष्ण ढुङ्गेलले जानकारी दिए।
आगामी हप्तामा यो कार्यक्रमलाई अरु गुणात्मकरुपमा विस्तार गराएर उपत्यकामा वाग्मतीको स्वच्छ पानी बगाउने अभियानमा जुट्न मुख्य सचिव पौडेलले आह्वान गरे ।
वाग्मती सफाइकै क्रममा मुख्य सचिव पौडेलले नेपाल सरकारका पूर्व सचिव एवम् कवि विष्णुगोपाल रिसालद्वारा लिखित 'वाग्मती काठमाडौँ सभ्यताको मुहान' नामक पुस्तकको पनि विमोचन गरे।
पुस्तकमा वाग्मतीका बारेमा बराह पुराण, पशुपति पुराण, स्कन्द पुराणको नेपाल माहात्म्य र हिमत्वखण्ड आदि ग्रन्थमा भएका महत्वका विषयमा प्रकाश पारिएको छ।
विमोचनपछि बोल्दै पुस्तकका लेखक रिसालले जुनसुकै ठाउँमा वाग्मतीको पानीबाट नुहाउन सकिने बनाउने अभियानलाई सफल पार्नका लागि जनचेतना जगाउने उद्देश्यले नै आफूले पुस्तक प्रकाशन गरेको बताए।
|
0 comments
Post Your Comments :